काठमाडौं,४ वैशाख । प्रतिनिधिसभाका १२ वटा संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले आज सिंहदरबारस्थित संसद सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ । सपथग्रहण समारोहमा उपसभामुख रुवीकुमारी ठाकुर, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी, राजनीतिक दलका संसदीय दलका पदाधिकारीलगायत उपस्थिति रहेको थियो । नवनिर्वाचित सभापतिहरुमा अर्थ समितिमा डा कृष्णहरि बुढाथोकी, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारी, कानून, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का निर्वाचित हुनुभएको छ ।
यसैगरी महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक चौधरी निर्वाचित हुनुभएको छ । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा ओजस्वी शेरचन, संयुक्त समिति संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापतिमा गणेश कार्की निर्वाचित हुनुभएको छ ।
शिक्षा समिति र राज्यका निर्देशकमा दुई,दुई जनाको उम्मेदवारी परेपछि ध्वनि मतका आधारमा रास्वपाका उम्मेदवार निर्वाचित हुनुभएको हो ।