
काठमाडौं, ४ वैशाख । अध्यागमन विभागले कानूनभन्दा बाहिरगई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानून र विभागीय निर्णय बाहिरगई गैरकानूनी अभ्यासगर्ने कर्मचारीलाई कारवाहीगर्ने भएको छ । विभागका प्रवक्ता निर्देशक टिकाराम ढकालले यसरी गैररकानूनी रुपमा प्रस्थान अनुमति दिने कर्मचारीमाथि आन्तरिक छानबिनको प्रक्रिया अघिबढाइएको बताउनुभयो । संयुक्त अरब इमिरेट्स प्रस्थानगर्न लागेका कुनै नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै अन्य शर्तका कुराहरु लेखेको भनि बिभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचारप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उहाँले छानबिन थालिएको बताउनुभयो ।
विभागले एक विज्ञप्ति जारीगरी आजको दिनमा धेरै नेपालीहरुको विदेश यात्रा रहर र राम्रो अवसरको खोजी मात्र नभई बाध्यता भएको यथार्थ हामी सबैलाई अवगत छ । नागरिकको यही बाध्यतालाई भजाएर बिभिन्न तहमा हुनेगरेका ठगी र शोषण नियन्त्रणगर्न अध्यागमन प्रशासनले आफ्नोतर्फबाट सक्दो प्रयास गरिरहेको जनाएको छ । विभागले अनावश्यक कागजात माग गर्ने र तजबिजीको आधारमा निर्णयगरी हुनेगरेको अनियमिततालाई नियन्त्रणगर्न नेपाल सरकारको गत कात्तिक १३ को निर्णयानुसार भिजिट भिसामा नेपालबाट प्रस्थानगर्ने नेपाली नागरिकको सन्दर्भमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणासहित विदेश जान पाउनेगरी प्रस्थानलाई सरलीकृत र व्यवस्थित बनाइएको स्पष्ट पारेको छ ।
विभागले यात्रुहरुको आगमन र प्रस्थानलाई झन्झटरहित बनाउन नीतिगत सहजीकरण र अध्यागमन प्रणालीलाई थप आधुनिकीकरणगरी राष्ट्रिय सुरक्षाको सुदृढीकरणका क्षेत्रमा काम गरिरहेको जानकारी गराएको छ । रासस