काठमाडौं, ४ वैशाख । राष्ट्रिय सतर्कता केन्द्रले ६३२ जना कर्मचारीलाई कारवाहीगर्न सम्बन्धित कार्यालय प्रमुखलाई सिफारिस गरेको छ । केन्द्रले बिभिन्न कार्यालयमा छड्के अनुगमनगरी ती कर्मचारीलाई कारवाहीगर्न सिफारिस गरेको केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिनुभएको छ । ती कर्मचारीलाई निजामती सेवा ऐन–०४९ को दफा ५५ अनुसार सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालमा राखिने जनाइएको छ ।
त्यसैगरी ऐनमा दुई पटकसम्म चेतावनीमा परिसकेका कर्मचारीलाई विभागीय कारवाहीगर्ने व्यवस्था छ । उहाँले कार्यालय समयमा नआउने कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको बताउनुभएको छ । केही कर्मचारीलाई कारवाही गरेको जानकारी केन्द्रमा प्राप्त भइसकेको उहाँले बताउनुभयो । केन्द्रले सेवा प्रवाह धेरै हुने त्यस्ता कार्यालयमा छड्के अनुगमन गरेको थियो । त्यसैगरी केन्द्रले सातै प्रदेशका एक÷एक जिल्लामा अनुगमन गरिरहेको छ । जनसम्पर्क धेरै हुने जिल्लाका कार्यालयमा केन्द्रले अनुगमन गरिरहेको हो ।