काठमाडौं, ४ वैशाख । यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्यवृद्धिले व्यवसायी मारमा परेकोभन्दै फेरी भाडा समायोजनगर्न माग गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले एक विज्ञप्ति जारीगरी अमेरिका, इजरायल र इरानबीचको द्वन्दका कारण नेपालमा आउने इन्धनको मूल्य बढेको र यातायात सञ्चालनमा समस्या परेकोभन्दै भाडा समायोजनगर्न माग गर्नुभएको हो । विज्ञप्तिमा नेपाल आयल नियमले पटक,पटक गरी डिजेल÷पेट्रोलमा भारी मूल्य वृद्धि गरेको हुँदा सार्वजनिक यातायात क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन र मालवाहक सवारीसाधन सञ्चालनगर्न कठीन अवस्था सिर्जना भएकाले मूल्यवृद्धिका आधारमा भाडा समायोजन गर्न माग गर्दछौँ भनिएको छ ।
महासंघले विषम परिस्थितिको मूल्याङ्कन गर्दै देशभरि सेवा सञ्चालनगर्ने महासंघ सदस्यले पेट्रोलियम पदार्थको खपत कमगर्न र सेवा सञ्चालनगर्दा हुने घाटालाई न्यूनीकरणगर्न व्यवसायी, व्यवसायीबीच सहकार्यगरी नेपाल सरकारबाट तोकिएको भाडालिइ अस्वस्थ प्रतिस्पर्धा नगरी रुट मिलाएर दैनिक यात्रुको चापका आधारमा मात्र सेवा सञ्चालनगर्न अनुरोधसमेत गरेको छ । महासचिव गौतमले नेपाल सरकारको स्वामित्व रहेको नेपाल आयल निगमबाट पटकपटक मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन माग गर्नुभएको छ ।