काठमाडौं, ४ वैशाख । पर्यटकीय राजधानी पोखरामा आज शुक्रबारदेखि रोटरी डिष्ट्रिक्ट ३२९२ को १८औँ डिष्ट्रिक्ट कन्फरेन्स (सम्मेलन) हुने भएको छ । सम्मेलनबारे जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा आज शुक्रबारदेखि सम्मेलन शुरुभई आगामी छगतेसम्म चल्ने बताउनुभयो । नेपाल, भुटान, अमेरिका, भारत, अष्ट्रेलियालगायत स्थानबाट एकहजार ५०० जना रोटरियनले भाग लिने सम्मेलनले यहाँको आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा पर्यटन व्यवसायमा टेवापुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँकाअनुसार सम्मेलन सफल पार्न लक्ष्मी थापा गिरीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

बिभिन्न २० उपसमितिले आआफ्नो जिम्मेवारीमा रहेर कार्यक्रम सभ्य र भव्य बनाउन लागिपरेका मूल समारोह समिति सचिव जयराम पौडेलले बताउनुभयो । सम्मेलनमा बिभिन्न विधामा नेपाल र विदेशका विज्ञहरुद्वारा रोटरीको सेवा क्षेत्रमा कार्यपत्र प्रस्तुत हुने रोटरीका असिस्टेन्ट गभर्नर एवं सम्मेलनका प्रेस संयोजक रवीन्द्र बास्तोलाले जानकारी दिनुभयो । यसअघि पोखरामा सन् २०१३÷१४ मा तत्कालीन डिष्ट्रिक्ट गभर्नर दिलेन्द्रराज श्रेष्ठ र सन् २०१९÷२० मा किरणलाल श्रेष्ठको पालामा सम्मेलन भएको थियो । रासस