काठमाडौं,१० वैशाख । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव सीपी गजुरेलले साम्राज्यवादी युद्ध नेपालीहरुको टाउकोमाथि मडाइरिहेको बताउनु भएको छ । १५६ औं लेनिन जयन्ती तथा ७७ औं पार्टी स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले क्रान्तिकारी शक्तिलाई बलियो बनाएर मात्रै साम्राज्यवादीहरुलाई रोक्न सकिने बताउनु भएको थियो । उहाँले अमेरिकामा तालिम दिएका तिब्बतीयनहरुलाई नेपालमा गुम्बा बनाएर राखेको छ । उनीहरुलाई खर्च आफैले दिएको भनिरहेको छ । अमेरिकी एम्बेसीले नेपाली युवाहरुको भर्ती खोलेको छ । त्यसको काउन्टरमा चीनको दुताबासले पनि नेपाली युवाहरुको अर्को भर्ती खोलेको छ ।

इरानमाथि अमेरिका–इजरायलले थोपरेको अन्यायपूर्ण युद्धको विरुद्धमा चीन पनि खडा भएको छ । शक्तिशाली राष्ट्रहरु विभाजित भएको अवस्थामा विश्वयुद्ध हुन सक्ने पनि अनुमान र विश्लेषणहरु भइरहेका छन् । स्थिति सामान्य छैन । क्रान्तिकारीहरु शक्तिहरु सचेत र संगठित बन्न जरुरी छ भन्नुभएको थियो । उहाँले आफ्नो शक्ति कमजोर भएपछि पुष्पकमल दाहालले फेरि पार्टी एकताको कुरा गर्नथालेको खुलाशा पनि गर्नुभएको थियो ।

सो पार्टीका पीवीएम तथा अखिल नेपाल जनजाति महासंघका संयोजक पवनमान श्रेष्ठ, क्रान्तिकारी किसान महासंघका महासचिव धनेश्वर पोखरेल, क्रान्तिकारी ट्रेड यूनियन महासंघका संयोजक इश्वर तिमिल्सिना, क्रान्तिकारी महिला संघ नेपालकी सहसंयोजक शारदा महत, अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठ लगायतका नेताहरुले पनि लेनिन दिवस र पार्टी स्थापना दिवसको चर्चा गर्दै निरन्तर क्रान्तिको लागि प्रेरणा र संकल्पगर्ने दिनकारुपमा व्याख्या गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पार्टी पीवीएम तथा ९ नं ब्यूरोका सेक्रेटरी चिन्तामणि पौडेलले गर्नुभएको थियो ।