
काठमाडौं,१० वैशाख । अर्थमन्त्री डा स्वर्णीम वाग्लेले कुनैपनि छिमेकीविरुद्ध नेपाली भूमि दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्तगर्दैै विकासको विश्वासिलो साझेदार चीनसँगको मैत्रीलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासले हिजो साँझ आयोजना गरेको ‘वसन्तको आवाज गीतसंगीतका साथ भित्री मंगोलियाको यात्रा’ कार्यक्रममा उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा चीन सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो । अर्थमन्त्री डा वाग्लेले चीनसँगको दिगो सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्तगर्दै चीन र नेपालबीचका भौगोलिक एवं सांस्कृतिक समानताका विविध पक्षबारे चर्चा गर्नुभएको थियो । उहाँले भित्री मंगोलियाको सांस्कृतिक वैभव द्विदेशीय सांस्कृतिक आदानप्रदानका निम्ति महत्वपूर्ण छ भन्नुभयो । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई भूपरिवेष्टितबाट भूजडित तुल्याउन चिनियाँ पक्षबाट भएको सहयोगको सराहना गर्दै अर्थमन्त्री डा वाग्लेले चीनले हासिल गरेको विकासबाट नेपालले सिक्न चाहेको बताउनुभयो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्रमा चिनियाँ समृद्धि र त्यसबाट नेपालले पाठ सिक्दै आर्थिक समृद्धिको मार्गमा अग्रसर हुनुपर्ने विषय समावेश गरेको छ भन्नुभयो । चिनियाँ सहयोगमा निर्मित चक्रपथ, त्यसको विस्तार, केरुङ–काठमाडौं सडक, रेलमार्गको सम्भाव्यता अध्ययन, मदन भण्डारी विश्वविद्यालय, निजामती अस्पताललगायत मुलुकको भौतिक पूर्वाधारमा प्राप्त सहयोग अतुलनीय रहेको अर्थमन्त्री डा वाग्लेले बताउनुभयो । नेपालमा चिनियाँ बैंक स्थापना, कृषि, पर्यटनलगायत पारस्परिक लाभका क्षेत्रमा अझ घनीभूत साझेदारीका निम्ति चिनियाँ पक्षसँग छलफल जारीरहेको बताउँदै उहाँले नेपालको चौतर्फी विकासका निम्ति दृढ संकल्पकासाथ क्रियाशील वर्तमान सरकारले सुशासन, आर्थिक र समृद्धिलाई केन्द्रमा राखेको जानकारी दिनुभएको थियो । राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीले एकचीन सिद्धान्तप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउँदै पञ्चशीलका सिद्धान्तमा आधारित दुई देशबीचको यो सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले नेपालको भरपर्दो विकास साझेदार चीनबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।
दुई देशबीचको विद्यमान सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याउनुपर्नेमा जोडदिँदै उपाध्यक्ष भण्डारीले सात दशक पुरानो नेपाल–चीन सम्बन्ध आर्थिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रमा पनि सघनहुँदै गएकामा प्रसन्नता प्रकट गर्नुभएको थियो । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपालमैत्री तथा सहयोगका निम्ति नेपाल सरकार र नेपाली जनताप्रति आभार व्यक्त गर्दै नेपालको संस्कृति एवं प्राकृतिक सौन्दर्यबाट आफू मन्त्रमुग्ध भएको बताउनुभएको थियो । चीन–नेपाल रणनीतिक साझेदारीलाई अनन्तकालसम्म चिरस्थायी बनाउन आफू प्रतिबद्ध रहेको बताउँदै उहाँले ‘बेल्ट एण्ड रोड’का माध्यमबाट नेपालको विकास प्रयासमा अझ सहयोगगर्ने चिनियाँ चाहना रहेको बताउनु भएको थियो ।
राजदूत चाङले हालै चीनले पारित गरेको १५औँ पञ्चवर्षीय योजना चीनको विकासका निम्ति मात्र नभई छिमेकी राष्ट्रहरुको उन्नयनमा पनि सहयोगी हुने विश्वास व्यक्त गर्नुभएको थियो । जनस्तरको द्विदेशीय सम्बन्धलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने दृढता दोहो¥याउँदै उहाँले विगतमा भएका सहमति एवं सम्झौता कार्यान्वयनगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, पूर्वसभामुख, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा काठमाडौंमा रहेका चिनियाँ तथा समाजका प्रतिष्ठित व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो ।