काठमाडौं,९ वैशाख । नेकपा (मसाल) का महामन्त्रि मोहनबिक्रम सिंहले साम्राज्यवादी हस्तक्षेपका कारण वर्तमान विश्व युद्ध र फासिवादतर्फ अगाडि बढिरहेको बताउनुभएको छ । उहाँले नेकपाको ७८ औं स्थापना दिवस र १५७ औँ लेनिन जयन्तीका उपलक्षमा जारी गर्नुभएको बक्तब्यमा उपरोक्त कुरा उल्लेख छ । उहाँले बक्तब्यमा भन्नुभएको छ– नेकपा (मसाल) ले १५७ औँ लेनिन जयन्ती र हाम्रो पार्र्टीको ७८ औँ स्थापना दिवसको अवसरमा सबै कम्युनिस्ट, क्रान्तिकारी तथा मिहिनेतकश जनताप्रति क्रान्तिकारी अभिनन्दन प्रकटगर्न चाहन्छ । त्यस सन्र्दभमा हामीले यो पनि स्पष्टगर्न चाहन्छौँकि नेपालको कम्युनिस्ट आन्दोलन विश्वभरको कम्युनिस्ट आन्दोलन, क्रान्तिकारी आन्दोलन तथा सम्पूर्ण विश्वका शोषितपीडित र सर्वहारा वर्गको मुक्ति आन्दोलनको अभिन्न अंग हो । सो अवसरमा हामीले सम्पूर्ण विश्वका सर्वहारा क्रान्तिकारी जनता र सर्वहारा वर्गसित पनि हाम्रो क्रान्तिकारी ऐक्यबद्धताको प्रतिबद्धता प्रकटगर्न चाहन्छौँ । नेपाल आज अत्यन्त कठीन र संकटोन्मुख अवस्थाबाट गुज्रिरहेको छ ।

नेपाल अहिलेसम्म कैयौँ प्रकारका प्रतिक्रियावादी व्यवस्थाका बिचबाट गुज्रिँदैै आइरहेका छ र तिनीहरुका विरुद्ध क्रान्तिकारी र प्रजातान्त्रिक संघर्षको हाम्रो लामो र गौरवपूर्ण इतिहास रहेको छ । त्यस प्रकारको संघर्र्षकाक्रममा नै हामीले निरंकुश राणाशासन र पञ्चायती तानाशाही व्यवस्था वा राजतन्त्रसमेतका विरुद्ध सफल संघर्र्षगर्दै आएका छौँ । त्यसका साथै राष्ट्रियताको रक्षा तथा त्यसका लागि विदेशी साम्राज्यवादी शक्तिका विरुद्ध पनि हामीले निरन्तर र दृढतापूर्वक संघर्र्षगर्दै आएका छौँ तर त्यस सन्र्दभमा यो कुराप्रति पनि हाम्रो ध्यान जानुपर्ने आश्यकता छ कि देशमा राजतन्त्र समाप्त भएर गणतन्त्रको स्थापना भइसकेको भए पनि गणतन्त्रलाई समाप्त गरेर राजतन्त्रको पुनस्र्थापना तथा धर्मनिरपेक्षतालाई समाप्त गरेर नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि प्रतिगामीले प्रयत्न गर्न छाडेका छैनन् । त्यसका साथै नेपाली जनता लामो समयदेखि भारतीय सम्राज्यवादद्वारा आक्रान्तहुँदै आएका छन् । कालापानी क्षेत्रमा भारतीय सेनाको कब्जा अहिलेसम्म कायम छ र अन्य कैयौँ क्षेत्रमा पनि नेपाल भारतीय साम्राज्यवादद्वारा पीडित हुँदै आएको छ । त्यसका साथै पछिल्ला दिनमा अमेरिकी साम्राज्यवादको नेपालमाथिको हस्तक्षेप र अतिक्रमण पनि धेरै नै बढेर गएको छ । अब अमेरिकाले नेपालमा आफ्नो कठपुतली सरकार नै बनाएको छ । यो स्पष्ट छ कि त्यसले नेपालप्रतिको आफ्नो साम्राज्यवादी रणनीति पूरा गर्न नै त्यस प्रकारको सरकार बनाएको हो । अमेरिकाको लागि नेपालको रणनीतिक महत्व छ ।

खास गरेर नेपाल तिब्बतको सीमामा रहेको हुनाले अमेरिकाका लागि नेपालको ठुलो रणनीतिक महत्व रहेको छ । अहिले संसारमा अमेरिका चीनका विरुद्ध चौतर्फीरुपले घेराबन्दीगर्न चाहन्छ । त्यसकासाथै त्यसले तिब्बतमा दलाई लामाको पुनस्र्थापनाका लागि नेपालको भूमि प्रयोग गर्न चाहन्छ । त्यसैका लागि अमेरिकालाई नेपालमा आफ्नो कठपुतली सरकार चाहिएको हो । यो कुरा स्पष्ट छ कि अहिले नेपालमा कायम भएको अमेरिकाको कठपुतली सरकारले पूरै अमेरिकी साम्राज्यवादका लागि काम गर्दैछ । त्यस प्रकारको नीति स्पष्टरुपले नेपालको राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितका विरुद्ध छ । त्यस प्रकारको नीतिको नेपाली जनताले कडा प्रतिवादगर्ने संभावनालाई अस्विकार गर्न सकिन्न । सरकारले झन्पछि झन् फासिस्ट रुप लिँदै जाने सम्भावनातिर पनि हाम्रो ध्यान जानुपर्ने अवश्यकता छ । आज विश्वमा युद्धको खतरा धेरै बढेर गएको छ । त्यस प्रकारको खतराको पछाडि मुख्य रुपले अमेरिकी साम्राज्यवाद नै जिम्मेवार छ । खास गरेर ट्रम्प अमेरिकाको राष्ट्रपति चुनिएपछि उनले संसारमा खुलेआम रुपमा नै जंगलको राज चलाइरहेका छन् ।

उनले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको समेत बेवास्ता गरेर संसार भरमा आफ्नो प्रभुत्व कायमगर्न प्रयत्न गरिरहेका छन् । ग्रिडल्यान्डमाथि कब्जा गर्ने, क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने, पनामा नहरमाथि कब्जा गर्नेजस्ता प्रयत्नबाट ट्रम्पले संसारभरमा जंगली राज चलाउन खोजेको कुरामा कुनै शंका रहन्न । भेनेजुयलाको राष्ट्रपतिको अपहरण र क्युबामाथि कब्जागर्ने घोषणा तथा इरानको सत्तामा परिर्वतन गरेर त्यहाँको तेलमा कब्जागर्ने र त्यहाँ भइरहेको आक्रमणमाथि विचारगर्दा अहिले संसार विश्व युद्धतिर बढ्दैता गइरहेको छैन ? गम्भीर आशंका उत्पन्न भएको छ । आजको संसारमा विश्व युद्ध हुन्छ भने त्यसले आणविक युद्धको रुप लिने बढी सम्भावना रहनेछ र त्यो अवस्थामा सम्पूर्ण मानव जातिको नै विनाश हुने पनि खतरा रहनेछ । त्यो अवस्थामा युद्ध र फासिवादको विरुद्ध र विश्व शान्तिको पक्षमा अवाज उठाउनुपर्ने हाम्रो अन्तर्राष्ट्रिय दायित्व हुन्छ र हुनुपर्दछ । उहाँले बक्तब्यको अन्त्यमा आज पार्टीको स्थापना दिवस र लेनिन जयन्तीको अवसरमा उपयुक्त प्रकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमाथि ध्यान दिदै आफ्नो जिम्मेवारी पूरागर्न हामीले प्रतिबद्धता प्रकट गर्नुपर्दछ भन्नुभएको छ ।