काठमाडौं,९ वैशाख । अख्तियार दुरुपयोग अनुसनधान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । निर्माण सेवाका सञ्चालक तथा सम्वद्ध संयुक्त उपक्रमहरुको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा रकम जम्मागराएको पाइएको छ ।

आयोगकाअनुसार, त्यसरी प्राप्तभएको घुस रकमबाट संयुक्त रुपमा सम्पत्ति खरिद गरेको पाइएको छ । निर्माण सेवा प्रालिले एकल वा संयुक्त उपक्रममा समावेशभई विभागले गरेको ठेक्का सम्झौतामध्ये कुल ६४ करोड २१ लाख ८९ हजार बराबरको ठेक्कामा चार करोड २२ लाख ७५ हजार, ९८५ बराबरको रकम घुस लिएको आयोगको आरोप छ । भ्रष्टाचार गरेर आर्जन गरेको रकमबाट आपसी मिलेमतो र योजनामा जग्गा एबं सुन खरिद गरेको तथा विभिन्न व्यक्तिलाई भुक्तानीसमेत गरेको पाइएको आयोगले जनाएको छ । गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउने रुपान्तरण तथा हस्तान्तरण गर्ने गराउने कार्य गैरकानूनी कार्य भएको ठहर गरिएको छ ।

पूरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर श्रेष्ठ र सहायक पथप्रदर्शक अधिकारी विरुद्ध समान चार करोड २२ लाख ७५ हजार ९८५ बराबरको बिगो दावीगर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभएको छ । रासस