
काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसको गगन थापा समूहको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र चयनात्मक रहेको निष्कर्ष निकालेको छ । सो पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा चैत २ र ३ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न बैठकले गत भदौ २४ गतेका घटनाको पर्याप्त छानविन नभएकाले उक्त घटनाको पुनःनिष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक आयोग गठनगर्न माग गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको छ ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन, सम्पत्ति छानविन, पेट्रोलियम पदार्थको मूल्यलगायतका विषयमा छलफल भएको प्रवक्ता चालिसेले जानकारी बताउनुभयो । उहाँले बैठकले लोकतन्त्र, गणतन्त्र, संघीयता, नागरिक सर्वोच्चता, मानव अधिकार तथा प्रेस स्वतन्त्रताजस्ता संविधानमा नीहित मूल्यमान्यताप्रति प्रतिबद्ध रहँदै संसदमा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी ढंगले निर्वाहगर्ने निर्णय गरेको छ, सरकारका सकारात्मक र कानूनसम्मत काममा सहयोगगर्ने तर लोकतान्त्रिक मूल्यविपरीत कदममा कडा प्रतिवादगर्ने कांग्रेसको धारणा छ भन्नुभयो । उहाँले कांग्रेसले विधिको शासनलाई लोकतन्त्रको आधार मानेको उल्लेखगर्दै कानूनभन्दा माथि कोही नहुने स्पष्ट पार्नुभयो ।
मध्यपूर्व संकटका कारण बढेको पेट्रोलियम पदार्थको मूल्यले आमनागरिकको जीवन प्रभावित भएकाले मूल्य घटाउन बिभिन्न करमा सहुलियत, भन्सार र अन्य शुल्क घटाउने तथा विद्यार्थीलाई विशेष सुविधा दिन कांग्रेसले सरकारसँग माग गरेको छ । बैठकले भ्रातृ संस्थाहरुको अवस्था अध्ययनसम्बन्धी प्रतिवेदन पारितगर्नुका साथै प्रवासस्थित जनसम्पर्क समितिको प्रतिवेदन अनुमोदन गरेको छ ।