काठमाडौं, ४ वैशाख । आज संसदका १२ विषयगत समितिका सभापतिको निर्वाचन हुँदैछ । हिजो मनोनयन दर्ता भएको हो । आज शुक्रबार अपरान्ह १ः०० बजेबस्ने सम्बन्धित समितिको बैठकमा सभापतिको मनोनयसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुतगर्ने कार्यक्रम रहेको छ । समिति सभापतिको निर्वाचन कार्यक्रमअनुसार हिजो अपरान्ह ४ः०० बजेसम्म प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिको सभापतिमा मनोनयन दर्ताभएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभाको अर्थ समितिको सभापतिमा डा कृष्णहरि बुढाथोकी, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहवर अन्सारी, कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल र सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्काको मनोनयन दर्ताभएको छ । महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा ओजस्वी शेरचन र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गुरुप्रसाद बरालको मनोनयन दर्ताभएको छ । संसदको संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापतिमा रास्वपाका गणेश कार्की र नेपाली कम्युनिष्ट पार्टीका सांसद मदनकुमारी शाह (गरिमा) को उम्मेदवारी दर्ताभएको छ । संसद सचिवालयले सभापति उम्मेदवारको मनोनयनसम्बन्धी सूची प्रकाशित गरेको छ ।