काठमाडौं, ५ वैशाख । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरुले वैदेशिक रोजगारीको मागपत्रमा पूर्वस्वीकृति आवेदनगर्दा अनिवार्य रुपमा सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर र स्थान खुलाउनुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले एक सूचना जारीगरी वैदेशिक रोजगारका लागि श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरुले श्रमिक मागगरी राष्ट्रियस्तरको दैनिक पत्रिकामा विज्ञापनको सूचना प्रकाशन गर्नुपर्ने र सोको जानकारी यस विभागमा पठाउनुपर्ने प्रावधान रहेको जनाएको छ ।

यसरी प्रकाशन हुने सूचनामा स्पष्ट रुपमा संस्थाको आधिकारिक सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर एवं सम्पर्क स्थान तोकिएको हुनुपर्ने व्यवस्था भएपनि प्रकाशित भएको सूचनाअनुसार आवेदन दिन चाहने व्यक्तिहरुले सम्पर्क गर्न नसकेको गुनासो प्राप्त भएकाले सो सम्बन्धमा विभागको गम्भीर ध्यानाकर्षण भएको हो । रासस