
काठमाडौं,२४ माघ । चीनको तीव्र आर्थिक विकास, खुला नीति तथा दीर्घकालीन योजनाबाट नेपालले लिनसक्ने अवसरबारे हिजो एउटा छलफल कार्यक्रम सम्पन्न भएको छ । ‘चीनको खुलापन र नेपालका लागि अवसरहरु ः चीनको १५औँ पञ्चवर्षीय योजनाको व्याख्या’ विषयक उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वक्ताहरुले चीनको विकास दिनप्रतिदिन सुदृढ बन्दैगएको उल्लेख गर्दै नेपालले पनि चिनियाँ विकास मोडेल, नीतिनिर्माण प्रक्रिया, प्रविधि हस्तान्तरण र आर्थिक रणनीतिबाट सिक्दै आफ्ना विकासका लक्ष्य हाशिलगर्न सक्ने बताए ।
विशेषगरी आगामी १५औँ पञ्चवर्षीय योजनामार्फत चीनले दिगो विकास, नवप्रवर्तन, हरित अर्थतन्त्र, डिजिटल प्रविधि र क्षेत्रीय सहकार्यलाई प्राथमिकतामा राखेको सन्दर्भमा नेपालका लागि नयाँ सम्भावना खुल्ने उनीहरुको भनाइ थियो । कार्यक्रममा गण्डकी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा रघु काफ्ले र नेपाल नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ रिसर्च कन्सल्टेन्ट डा मुक्ति रिजालले मुख्य वक्ताका रुपमा आफ्ना धारणा राख्नुभएको थियो । डा काफ्लेले चीनको दीर्घकालीन योजना प्रणाली, कार्यान्वयन क्षमता र नतिजामुखी दृष्टिकोणबाट नेपालले धेरै कुरा सिक्न सक्ने उल्लेख गर्नुभएको थियो । उहाँले नेपालमा पनि योजनालाई कागजमा सीमित नराखी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउनुभयो । यसैगरी डा रिजालले चीनको आर्थिक रुपान्तरणको अनुभवलाई नेपालको सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पार्नुभयो ।
उहाँले पूर्वाधार विकास, औद्योगिकीकरण, निर्यात प्रवर्द्धन, मानव संशाधन विकास र डिजिटल अर्थतन्त्रमा चीनसँग सहकार्य विस्तार गर्न सके नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा चिनियाँ विकास मोडेलका अनुसन्धानकर्ता रोयल आचार्यले चीनमा हाल भइरहेका विकास गतिविधि, नीतिगत सुधार तथा १५औँ पञ्चवर्षीय योजनाका मुख्य विशेषता समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले चीनले कसरी दीर्घकालीन सोच, प्रविधिमा लगानी, नवप्रवर्तन र खुला अर्थनीतिमार्फत आफ्नो अर्थतन्त्रलाई सुदृढ बनाउँदै गएको छ भन्नेबारे व्याख्या गर्नुभयो । रासस