काठमाडौं, २८ माघ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तरराष्ट्रिय केन्द्रकारुपमा स्थापितगर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन गरिएको छ । तन्त्रको साधनास्थली र आध्यात्मिक ऊर्जा केन्द्रको रुपमा नेपाललाई विश्वमा चिनाएर धार्मिक पर्यटन प्रवद्र्धन गराउन वनकालीस्थित श्रीपशुपतिनाथ मन्दिर परिसरको नेपाल वेदविद्याश्रममा माघ २३ गतेदेखि शुरु भएको महायज्ञ फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञ आगम परम्परामा आधारित श्रीविद्या उपासना पद्धतिको उच्चतम अनुष्ठानकारुपमा शुरु गरिएको हो ।

महायज्ञमा ललिता महात्रिपुरसुन्दरीको एक करोड पटक अर्चना, जप र हवन गरिने कार्यक्रम बनाइएका आजसम्म करिब ५५ लाख पटक साधना सम्पन्न गरिएको डा रुद्रानन्द ब्रम्हचारी बताउनुुभयो । नेपाल राष्ट्रको शान्ति समृद्धि र जनकल्याणका लागि विश्वमेध श्रीविद्या कोटी अर्चना महायज्ञ गरिएको उहाँले बताउनुभयो । यसअन्तर्गत आज भगवती मातङ्गीको लक्षार्चन अनुष्ठान (हवन) सहित श्रीविद्याकी अधिष्ठात्री ललिता महात्रिपुरसुन्दरीको अर्चना (पाठ जप पुजन) भएको छ ।

सबै कार्यको श्री विद्यादेशिक प्रवर परमपुज्य गुरुदेव श्री महेश चैतन्य ब्रहमचारीको सत्संकल्प र दिव्य निर्देशनमा महायज्ञ भइरहेको हो । उहाँ श्री विद्या तत्व अनुसन्धान आश्रम, हरिद्वार तथा दिल्लीका प्रमुख पनि हुनुहुन्छ । यस्ता महायज्ञले पशुपति क्षेत्रको महत्वलाई विश्वभर फैलाउन सकिन्छ । रासस