काठमाडा, २७ माघ । नेपाली कम्युनिष्ट पार्टीले आज आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्बजनिकगर्दै आफूमात्र सही क्रान्तिकारी भएको र अरुसबै प्रतिगामी र अवसरवादी भएको दाबि गरेको छ । सो पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्बजनिकगर्दै उपरोक्त दाबि गर्नुभएको हो । त्यसक्रममा उहाँले संविधान पुनरावलोकन र परिमार्जनगर्न प्रतिबद्ध रहेको खुलाशा गर्नुभएको थियो । उहाँले नवयुवा पुस्ताको मर्म र भावनाअनुसार राजनीतिक स्थिरताका लागि संविधान संशोधनगर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको थियो । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर पार्टीकातर्फबाट ‘संक्षिप्त घोषणापत्र’ सार्वजनिकगर्दै उहाँले शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायत विषयलाई पुनरावलोकन र परिमार्जन गरिने बताउनुभएको थियो । उहाँले ०७२ को संविधान जारीभएको १० वर्ष पूराभएको छ ।

संविधानले पनि १० वर्षमा पुनरावलोकन र परिमार्जनगर्ने भनिएको छ । प्रतिबद्धतापत्रमा त्यस विषयलाई महत्वका साथ उठाएको छौँ । त्यसैगरी सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शीतालाई उच्च प्राथमिकता राखिएको छ भन्नुभएको थियो । उहाँले सामाजिक विभेद र असमानता अन्त्यगर्ने कुरामा पनि आफूहरू प्रष्ट योजनाका साथ अगाडि बढ्ने बताउनुभएको थियो । संयोजक दाहालले आत्मनिर्भर र स्वाधिन अर्थतन्त्र, वातावरण संरक्षण, विपद् व्यवस्थापन, नेपाली विशेषताको समाजवादको आधार निर्माणगर्ने, राष्ट्रिय हित र परराष्ट्र सम्बन्धलाई बलियो बनाउने विषयलाई पनि प्रतिबद्धतामा उच्च प्राथमिकता दिइएको छ भन्नुभएको थियो ।

प्रतिबद्धतापत्रमा आगामी पाँच वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हाशिलगर्ने लक्ष्य राखिएको छ । बहुआयामिक गरिबीको दर १० प्रतिशतमा सीमितगर्ने, प्रतिवर्ष एक लाख ५० हजार रोजगारी सिर्जना, पाँच लाख नियमित रोजगारी सुनिश्चित, विदेशबाट फर्केका एकलाख जनालाई उद्यमी बनाउने योजना प्रतिबद्धतापत्रमा समेटिएको छ ।