काठमाडौं, २७ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधि सभाको निर्वाचन घोषणापत्र लेखनका लागि सुझाव संकलन गरेको छ । पार्टीले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन घोषणापत्र तयारगर्न पार्टी संगठन, जनवर्गीय संगठनलगायतसँग सुझाव लिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभएको छ । कतिपय जनवर्गीय संगठनले कार्यालयमा आएर र कसैले इमेलमार्फत एमालेलाई सुझाव पठाएका उहाँले बताउनुभएको छ । उहाँले हामीले जनवर्गीय संगठनलगायत क्षेत्रबाट आएका सुझावलाई समेटेर घोषणापत्रका लागि सुझाव संकलन गरिरहेका छौँ ।
ती सुझाव संकलनको आधारमा घोषणापत्रको अन्तिम मस्यौदा बनाउँदैछाँै भन्नुभएको छ । आगामी फागुनको पहिलो साता पार्टीको घोषणापत्र सार्वजनिक गरिने सचिव डा अधिकारीको भनाई छ । एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहनुभएको छ ।