काठमाडौं, २७ माघ । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अमेरिकी साम्राज्यवादले नेपालमा आफ्नो अनुकूलको सरकार निर्माणगर्ने प्रयास गरिरहेको खुलाशा गर्नुभएको छ । कपिलवस्तु जिल्लाको चारनम्बर जीतपुरमा राष्ट्रिय जनमोर्चाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधनगर्दै सिंहले उपरोक्त खुलाशा गर्नुभएको हो । उहाँले अहिलेको चुनावमा नेपाली जनताको प्रधान विरोधी पक्ष अमेरिकी साम्राज्यबाद भएको बताउनु भएको थियो । उहाँले ‘धुन्धुकारी डोनाल्ड ट्रम्पले संसार कब्जागर्दै हिँडेको छ, उसले नेपालमा एमसिसी भित्र्याएर तिब्बत टुक्राउनका लागि नेपालमा प्रत्यक्ष उपस्थित हुन चाहिरहेको पनि बताउनु भयो ।

महामन्त्रि सिंहले त्यसका लागि साम्राज्यवादले नेपालमा आफ्नो अनुकूलको सरकार निर्माणगर्ने काममा सक्रिय रहेको बताउनुभएको थियो । उहाँले नेपाली जनतालाई भ्रमित बनाएर नयाँ र वैकल्पिक राजनीतिक शक्तिको नाममा बिभिन्न कठपुतली अराजनैतिक व्यक्तिहरुलाई साम्राज्यवादले उपयोग गरिरहेको दावी पनि गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेश्मीराज नेपालीले जनता सचेत नभए देश अमेरिकी कब्जामा जाने बताउँदै अहिलेको प्रमुख मुद्धा राष्ट्रियता, गणतन्त्रको रक्षा, संघीयता खारेज नै रहेको बताउनु भयो ।

कार्यक्रममा समानुपातिक उम्मेदवार दधिराम आचार्य, कर्मराज चौधरी, रामकरण कुर्मी, प्रत्यक्ष उम्मेदार माधव भाट क्षेत्री, लक्ष्मी पोख्रेल, केरसिंह अदैले आआफ्नो परिचय दिई सम्पूर्ण कार्यकर्ता शुभचिन्तक एवं आम जनसमुदायलाई गिलास चिन्हमा मतदानगरी विजयी बनाउन अपीलगर्नु भएको थियो । कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, राष्ट्रिय जनमोर्चाका सल्लाहकार वासुदेव पोख्रेलको आतिथ्यता रहेको थियो ।