काठमाडौं, २७ माघ । इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि प्रयोग गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषामात्रै नभएर देवनागरी लिपि प्रयोगगर्न अन्तरिम आदेश जारीगरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषामात्रै प्रयोग नगर्न अन्तरिम आदेश जारीगरेको हो । अधिवक्ता रामबहादुर राउत मातृदासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक यातायात व्यवस्था विभाग, अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनी नेपाललाई विपक्षी बनाएर रिट दायर गर्नुभएको थियो । न्यायाधीशद्वय महेश शर्मा पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता राउतले सर्वोच्चको अन्तरिम आदेश जारी भएसँगै सकारात्मक सन्देश प्रवाह भएको र यो नेपालीको जित भएको प्रतिक्रिया दिनुभएको छ । सर्वोच्चको आदेशसँगै देवनागरी लिपिलाई विस्थापित गरेर अंग्रेजी भाषामात्रै प्रयोग गर्नेगरी भएको निर्णय तत्काल कार्यान्वयनमा नआउने भएको छ । यसअघि ०७९ चैत २२ मा सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीसँगै नेपाली भाषा पनि प्रयोगगर्न सकिनेगरी कानून संशोधनगर्ने निर्णय गरेको थियो । तत्कालीन मन्त्रिपरिषद्को बैठकले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा पनि प्रयोगगर्न सकिने गरी सवारी तथा यातायात व्यवस्था ऐन–०४९ संसोधनगर्ने निर्णय लिएको थियो । नम्बर प्लेटमा देवनागरी लिपिमा आधारित नेपाली अक्षर र अंक अनिवार्य रुपमा राख्न अन्तरिम आदेश जारी गरेको अधिवक्ता राउतले बताउनुभएको छ । यो अन्तरिम आदेशले नेपालका सम्पूर्ण सवारी साधनहरुमा नेपाली पहिचान झल्किने देवनागरी लिपि प्रयोग गर्नुपर्ने संवैधानिक अधिकारलाई पुनःस्थापित गरेको उहाँको भनाइ रहेको छ ।