काठमाडौं,१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचन सत्ताभन्दा पनि व्यवस्था बदल्ने चुनाव भएको बताउनुभएको छ । काठमाडौं महानगरपालिका–१४ मा घरदैलो कार्यक्रमकाक्रममा उपसभापति अर्यालले उपरोक्त खुलाशा गर्नुभएको हो । त्यसक्रममा उहाँले निर्वाचन केबल सत्ताप्राप्तिको माध्यममात्र नभई राजनीतिक संस्कृतिको रुपान्तरण, इमान्दार नेतृत्व स्थापना तथा परिणाममुखी शासन प्रणाली निर्माणको अवसर भएको पनि बताउनुभएको थियो ।

उहाँले स्थानीय आवश्यकता र सम्भावनालाई आधार बनाएर विकासको स्पष्ट कार्ययोजना अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । योग्य र काम गर्नसक्ने उम्मेदवारलाई चुनावमा जिताउनुपर्ने उपसभापति अर्यालले जोड दिनुभयो । काठमाडौँ–१४ माउते दोबाटोबाट शुरुभएको घरदैलो कार्यक्रम रञ्जित कोलोनी, एलआरआई स्कुल, गुणकेशरी क्लब, सुनाखरी टोल, भलुभैरव मन्दिर, खड्का गाउँ, मालिकानगर आर्किड कोलोनी, न्यू डायमण्ड चोक, गणेशस्थान, पाण्डेगाउँ, पीपलबोट, हिमशिखर स्कूल, देउला टोलहुँदै खड्का गाउँ दोबाटोबाट थापागाउँमा पुगेर हिजो सम्पन्न भएको थियो ।