काठमाडौं, २ फागुन । माओवादी पार्टी र माओवादको राजनीति छाडिसकेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जनयुद्ध दिवसको मञ्चबाट आफ्नो चुनाव प्रचार गरेको देखिएको छ । रुकुमको भूमे–२, खाबाङ्ग बगरमा ३० औँ जनयुद्ध दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा दाहालले गत भदौ २३ र २४ को घटना जनयुद्धकै निरन्तरता भएको उल्लेख गर्नुभएको थियो । उहाँले जेनजी पुस्ताले उठाएका मागहरु शान्ति प्रक्रियाका क्रममा उठाइएका तर शक्ति सन्तुलनका कारण पूरा हुन नसकेका मुद्धाहरुको निरन्तरता भएको बताउँदै मुद्धाहरु बाँकी छन्, सपनाहरुको हिसाब अझै भएको छैन, हामीले त्यो बिर्सेका छैनौँ भन्नुभएको थियो ।

संविधान जारी भएको एक दशकमा विभिन्न सुधारका प्रयास गरिएको उल्लेखगर्दै संयोजक दाहालले सरकारमा रहँदा एक बर्षभित्र पाँच लाख भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने नीति तथा बजेट ल्याइएको दाबि गर्नुभएको थियो । उहाँले विदेशबाट फर्केका युवालाई लक्षित उद्यमशीलता कार्यक्रमले अपेक्षित गति लिन नसकेको उल्लेखगर्दै अबको युद्ध उत्पादनसँग जोडिने बताउनुभएको थियो । उहाँले सूचना प्रविधि, पर्यटन, कृषिलगायत क्षेत्रमा आगामी पाँच वर्षभित्र २० लाखभन्दा बढी रोजगारी र स्वरोजगारी सृजनागर्न सकिने दाबी पनि गर्नुभएको थियो । पाँच वर्षसम्म स्थिर सरकार सञ्चालनगर्न नपाउँदा राम्रा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउँदै संयोजक दाहालले दोहोरो जिम्मेवारी भएका निकाय गाभ्ने, संघीय संरचनामा दोहोरिएका कार्यक्रम हटाउने तथा नीति–बजेट प्रक्रियामा सुधारगर्ने प्रयासहरु अधूरै रहेको बताउनुभएको थियो ।

उहाँले कुशासन र भ्रष्टाचार बढ्दैजाँदा जनताको आक्रोशले व्यवस्था नै संकटमा पर्न सक्ने चेतावनी आफूले पटक,पटक दिएको उल्लेखगर्दै वर्तमान परिस्थिति त्यसैको परिणाम भएको दाबी गर्नुभएको थियो । नेपाली कम्युनिष्ट पार्टीका अन्य नेताहरुले भने जनयुद्ध दिवश मनाएनन् ।