
ढाका, २ फागुन । बंगलादेश नेसनलिष्ट पार्टी (बीएनपी) ले सन् २०२४ को घातक विद्रोहपछि भएको पहिलो निर्वाचनमा हिजो शुक्रबार भारी जित हाशिल गरेको छ र नेता तारिक रहमान प्रधानमन्त्री बन्ने करिब निश्चित भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार बीएनपी गठबन्धनले संसद्को कूल ३०० सीट संख्याको २१२ सिट जितेको छभने इस्लामवादी नेतृत्वको जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट जितेको छ । बंगलादेशको संसद्को कुल ३५० सीटमध्ये ५० सीट महिला प्रपितनिधित्वका लागि आरक्षित गरिएको छ । मतदानको दुई दिनअघि रहमानले आफ्नो पार्टीले १७ करोड जनसंख्या भएको दक्षिण एसियाली राष्ट्रमा पुनः सत्ता प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको थियो ।
सन् २०२४ मा शेख हसिनालाई अपदस्थगर्ने सामूहिक प्रदर्शनपछि १७ वर्षभन्दा बढी समय लन्डनको स्व–निर्वासनपछि रहमान गत डिसेम्बरमा बंगलादेश फर्किनुभएको थियो । बीएनपीका प्रधानमन्त्रीका उम्मेदवार तारिक रहमान हिजो शुक्रबार पार्टीले ‘निर्णायक विजय’ पाएको निर्वाचन आयोगको तथ्यांकले देखाएपछि देशको नयाँ नेता बन्ने निश्चित भएको छ । गत बिहीबारको मतदानमा जाँदै रहमानले एक्लै शासनगर्न पर्याप्त बलियो जनादेश पाउने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँको सपना साकार भएको छ । उहाँले बढ्दो अधिनायकवादी शासनपछि लोकतान्त्रिक सरकारअन्तर्गत शान्ति र स्थिरता पुनस्र्थापनागर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रहमानले ऐतिहासिक मतदानअघि मतदातालाई मतदानमा सहभागी हुन प्रोत्साहनगर्दै मलाई विश्वास छ, बंगलादेशका जनता भोट हाल्न बाहिर आएभने षड्यन्त्र सफल हुँदैन । नयाँ लोकतन्त्रको सुरुवातका लागि सबैलाई मेरो शुभकामना छ भन्नुभएको थियो । रहमान पूर्वप्रधानमन्त्री स्वर्गीय खालिदा जिया र पूर्व राष्ट्रपति स्वर्गीय जियाउर रहमानका जेठा छोरा हुनुहुन्छ । जियाउर रहमानको सन् १९८१ मा सैनिक विद्रोहकाक्रममा हत्या गरिएको थियो ।
खालिदा जियाले पतिको मृत्युपछि राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँ सन् १९९१ मा पहिलो पटक बंगलादेशको राजनीतिक नेतृत्वलिँदै सत्ताको बागडोर सम्हाल्न सफल हुनुभएको थियो । रहमान सन् २०१८ मा आफ्नी आमा खालिदा जिया जेलमा परेपछि बीएनपीको कार्यवाहक अध्यक्षको रुपमा कामगर्दै आउनुभएको छ । रहमान सन् २००८ मा उपचारका लागि लन्डन जानुभएको थियो तर स्वदेशमा उहाँको अनुपस्थिति मा नै उहाँमाथि धेरै मुद्धाहरुमा दोषी भएको आरोपसहित मुद्धा चलाइएको थियो । शेख हसिनाको हत्याको षड्यन्त्रसँग जोडिएको मुद्धामा उहाँलाई अनुपस्थितिमा दोषी करार गरिएको थियो । सन् २०२४ मा हसिनालाई सत्ताबाट हटाइएपछि ती निर्णयहरु उल्ट्याइएको थियो, जसले उहाँको फिर्तीमा कानूनी अवरोधहरु हटाएको थियो । रासस÷एएफपी