काठमाडौं, २ फागुन । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनको समयमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई विश्लेषणगर्दै प्रभावकारी प्रहरी परिचालनगर्न निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयबाट हिजो भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयबारे प्रहरी कर्मचारीहरुलाई निर्देशन तथा सम्बोधनगर्दै प्रहरी महानिरीक्षक कार्कीले सो निर्देशन दिनुभएको हो ।

उहाँले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पकारुपमा लिई निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाई अन्य सुरक्षा निकाय एवं सरोकारवाला सबै पक्षहरुसँग निरन्तर समन्वय तथा सहकार्यगरी आआफ्नो क्षेत्रमा त्रुटिरहित तवरमा कार्यसम्पादनगर्न निर्देशन दिनुभएको थियो । निर्वाचन प्रहरीको गुनासो सम्बोधनगर्दै उनीहरुप्रति गरिने आचरण, व्यवहारप्रति थप संवेदनशील भई निर्वाचन प्रहरीको प्रभावकारी परिचालनमा समेत विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो । निर्वाचनको समयमा थप मद्धतकारुपमा खटिएर आउने प्रहरी कर्मचारीको उचित व्यवस्थापन तथा परिणाममुखी परिचालनमा केन्द्रित हुन उहाँले आग्रह गर्नुभएको थियो ।