काठमाडौं,१ फागुन । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आज जनयुद्ध दिवसको अवसर पारेर देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारीहरुका बीचको राष्ट्रिय राजनीतिक सम्मेलनमा जोड दिएको छ । आज सो पार्टीलगायतका पूर्ब माओवादीका बिभिन्न घटकले ३१ औं जनयुद्ध दिवस मनाउँदै छन् । यसैक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव सिपि गजुरेलले आज जारी गर्नुभएको एक बक्तब्यमा सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारीहरुका बीचको राष्ट्रिय राजनीतिक सम्मेलनमा जोड दिइएको छ । उहाँले बक्तब्यमा भन्नुभएको छ–स्वाधीन संयुक्त सरकार गठनका लागि आधार निर्माणगर्न सम्पूर्ण देशभक्त शक्तिहरुमा हार्दिक आह्वान गर्नुभएको छ । उहाँले बक्तब्यमा राष्ट्रिय स्वाधीनताको हिसाबले नेपाल यति गम्भीर स्थितिमा आजसम्म कहिल्यै पुगेको थिएन । देशको अस्तित्वनै खतरामा परेको आजको स्थितिमा यो देशद्रोही सरकारको खारेजी र पार्टीले अगाडि सारेको सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारीहरुका बीचको राष्ट्रिय राजनीतिक सम्मेलन, संयुक्त मोर्चा निर्माण, स्वाधीन संयुक्त सरकारको गठन र जनसंविधानको निर्माण गरी अग्रगमनको मार्गप्रसस्त गर्नु आजको एकमात्र विकल्प हो भन्नुभएको छ । बक्तब्यमा आजभन्दा ठीक ३० बर्ष पहिला थालनी गरिएको जनयुद्ध आज ०८२ फागुन १ गते एकतीसौं बर्षमा प्रवेश गरेको छ ।

यस उपलक्षमा हामी देशभर जनयुद्ध दिवश मनाउन गइरहेको छौं । यो ऐतिहासिक दिनमा हाम्रो पार्टी नेपाली क्रान्तिको प्रक्रियामा सहादत प्राप्तगर्ने सम्पूर्ण अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ, वेपत्ता, घाइते तथा अपांग योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछ र नेपाली जनताले प्रस्तुत गरेका अपूर्व त्याग, वीरता र बलिदानको संस्मरण गर्दछ । साथै, शहीद तथा बेपत्ता योद्धाका परिवारजन, सम्पूर्ण पार्टी सदस्य कमरेडहरु, समर्थक एबं शुभेच्छुकहरु, आदरणीय जनसमुदाय र भाइचारा पार्टी तथा अन्तर्राष्ट्रिय सर्वहारा वर्गमा हार्दिक शुभकामना सहित लाल सलाम गर्दछ । आन्तरिकरुपमा सामन्तवाद एबं दलाल तथा नोकरशाही पूँजीवाद र वाह्यरुपमा साम्राज्यवाद तथा विस्तारवादका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादहुँदै साम्यवादको दिशामा अघिबढ्ने अठोटका साथ उद्घोष गरिएको महान् जनयुद्धले नेपालमात्र होइन विश्वभर क्रान्ति र परिवर्तनको नयाँ सन्देश प्रवाहित गरेको थियो । विश्व साम्राज्यवादका नाइकेहरु र तिनका कठपुतली नेपाली प्रतिक्रियावादी वर्ग यस महान् जनयुद्धबाट आतंकित भएका थिए । तर विडम्बना, पार्टीको मूल नेतृत्वबाट क्रान्तिप्रति भएको गम्भीर विश्वासघात र गद्दारीका कारण नेपाली क्रान्ति प्रतिक्रान्तिमा बदलिएको छ । हिजो विश्व साम्राज्यवादलाई चुनौती दिन सक्षम जनयुद्ध आज इतिहासको विषय बनेको छ, त्यसका प्रमुख नेता साम्राज्यवादको मतियारा बनेका छन् । यो आजको तीतो यथार्थ हो । ऐतिहासिक जनयुद्धको जग र जनआन्दोलनको बलमा नेपाली जनताले प्राप्त गरेका सीमित लोकतान्त्रिक अधिकारहरु खोसिँदै गएका छन् । देशमा व्यापार घाटाले आकाश छोएको छ र आर्थिक संकट गम्भीर छ । देशको अर्थतन्त्र विप्रेषणबाट धानिएको छ ।

आम बेरोजगारी र अनियन्त्रित महँगीका कारण श्रमजीवी मजदुर, किसान, न्यूनवैतनिक कर्मचारी हातमुख जोड्ने समस्याले पीडित छन्भने सत्ताको आडमा देशको दोहन गर्ने एउटा सानो गिरोह अकुत सम्पत्तिको मालिक बनेको छ । भ्रष्टाचार, कालो बजारी, मिटरब्याजी शोषण, सहकारी ठगी व्याप्त छ । उत्पादक किसानहरुका लागि लगानी उठाउन गाह्रो भइरहेको छभने बिचौलियाहरु मालामाल भएका छन् भनिएको छ । बक्तब्यको अन्त्यमा बर्तमान सरकार पञ्चशीलको सिद्धान्त र देशले आजसम्म मान्दैआएको असंलग्न परराष्ट्र नीतिका विरुद्ध अमेरिकी रणनीतिलाई कार्यान्वयन गराउन तयार पारिएको छ । राष्ट्रिय स्वाधीनताको हिसाबले नेपाल यति गम्भीर स्थितिमा आजसम्म कहिल्यै पुगेको थिएन । देशको अस्तित्वनै खतरामा परेको आजको स्थितिमा यो देशद्रोही सरकारको खारेजी र पार्टीले अगाडि सारेको सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारीहरुका बीचको राष्ट्रिय राजनीतिक सम्मेलन, संयुक्त मोर्चा निर्माण, स्वाधीन संयुक्त सरकारको गठन र जनसंविधानको निर्माणगरी अग्रगमनको मार्ग प्रसस्तगर्नु आजको एकमात्र विकल्प हो भनिएको छ ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै छ । जनयुद्धको शुरुआत भएको रुकुमपूर्वमा शहीद तथा बेपत्ता परिवार, घाइते, अपांग र रुकुमेलीसँग जनयुद्ध दिवस मनाउन पार्टीका संयोजक पुष्पकमल दाहाल हिजो बिहीबार साँझ रुकुमपूर्व पुग्नुभएको थियो । ०५२ फागुन १ गते तत्कालीन माओवादीले शुरु गरेको जनयुद्ध १० बर्षसम्म चलेपछि भारतको नयाँदिल्लीमा लगेर बिसर्जन गरिएको थियो । जनयुद्धका प्रमुख नेता पुष्पकमल दाहालले माओवादी केन्द्र पार्टी र माओवादको सिद्धान्त परित्याग गरिसक्नु भएको छभने डा. बाबुराम भट्टराईले कम्युनिष्ट पार्टी र सिद्धान्त दुबै परित्याग गरिसक्नु भएको छ ।