काठमाडौं,४ फागुन । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । प्रलोपा नेतृत्वले पुराना दलहरु वर्तमान समस्याको समाधान र भविष्यका सम्भावनाको यथार्थ मूल्यांकनगर्न असफल भएको आरोप लगाउँदै आफूहरुसँग मुलुकलाई समृद्ध बनाउने स्पष्ट दृष्टिकोण, वैचारिक स्पष्टता, युवा तथा दूरदर्शी नेतृत्व, ठोस योजना र कार्यक्रम रहेको दाबी गरेको छ । पत्रकार सम्मेलनमा पार्टी अध्यक्षहरु सुदन किराती, दुर्गा सोब र सन्तोष परियारलगायतले आगामी २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संयुक्तरुपमा प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।

अध्यक्ष परिषद्का अध्यक्ष परियारले गत भदौ २३–२४ मा भएको ‘जेनजी विद्रोह’ ले नेपाली समाजलाई जरैदेखि हल्लाएको उल्लेखगर्दै उक्त आन्दोलनकै बलमा हुन लागेको चुनावमार्फत आफ्नो पार्टीले गर्ने कामको प्रतिबद्धतापत्र लिएर आएको बताउनुभएको थियो । अध्यक्ष परिषद्का अध्यक्ष सोब र किरातीले मुलुक चरम आर्थिक संकट, राजनीतिक दल तथा नेतृत्वको तीव्र भ्रष्टीकरण र कुशासनका कारण गम्भीर परिस्थितिमा पुगेकाले चुनावमार्फत त्यसलाई सच्याउनुपर्ने बताउनुभएको थियो । पार्टीले परिवर्तनका विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने ज्ञातअज्ञात सहिदको सपना पूरागर्ने अठोट व्यक्तगर्दै पार्टीले निर्वाचनमा उत्साहपूर्ण सहभागिताका लागि आम जनसमुदायलाई अपिलसमेत गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनलाई राजनीतिक रुपान्तरणको ऐतिहासिक अवसरका रुपमा चित्रणगर्दै आफूलाई अग्रगामी वैकल्पिक शक्तिका रुपमा स्थापितगर्ने लक्ष्य सो पार्टीले लिएको जनायो । पार्टीले ‘प्रगतिशील लोकतन्त्र’ को अवधारणा अघि सारेको जनाएको छ । यसको मूलआधार पूर्ण समावेशीता, सामाजिक न्याय र समता, जनसहभागितामूलक शासन, आर्थिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितता, सुशासन, पारदर्शिता तथा अग्रगामी परिवर्तनमा आधारित हुने अध्यक्ष सोबले बताउनुभएको थियो ।