काठमाडौं, ३ फागुन । आज महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा बिहान करिव चारबजेबाट साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहलपहल अत्यधिक बढेको छ । देश, विदेशबाट आएका साधुसन्त एवं भक्तजनका कारण पशुपति क्षेत्रमा मेला लागेको छ । महाशिवरात्रिका अवसरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन सेवा, खानेपानी, चियालगायत सेवागर्नेको पनि घुइँचो छ । महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारी स्थलगत रुपमै खटिएर काम गरिरहेका छन् । हंसमण्डप क्षेत्रको स्थलगत अनुगमनमा खटिनुभएका कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले यसवर्ष सफाइमा विशेष ध्यान दिइएको बताउनुभएको छ । पशुपति क्षेत्रमा आएका साधुसन्त र भक्तजनका लागि प्रभावकारी व्यवस्थापनमा कोष लागिरहेको उहाँले उल्लेख गर्नुभयो । यस वर्ष चार हजारदेखि चार हजार ५०० सम्म साधुसन्त आउने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।
गत वर्षभन्दा यस वर्ष साधुसन्त बढी आउने अनुमान गरिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा सेवा दिइरहेका स्वयंसेवी संस्थाको दृष्टिमाभने यस वर्ष विगतमाभन्दा कम मानिस अघिल्लो दिन पशुपति क्षेत्रमा आएका कोषाध्यक्ष सापकोटाले बताउनुभएको छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्रलाई विशेष रुपमा सिँगारिएको छ । फूलमालाले विशेष रुपमा सिँगारेर आकर्षक बनाइएको छ । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियानको ६६६औँ हप्ताको सफाइ पशुपति क्षेत्रस्थित राममन्दिरमुनिको नदी किनारमा गरिएको छ । आज फागुन ३ गते आइतबार महाशिवरात्रि पर्वको तयारीका लागि पशुपति क्षेत्रको राममन्दिर, आर्यघाटसँगै यहाँको नदी किनारमा हिजै सरसफाइ गरिएको थियो ।
सफाइमा कोषका सञ्चालक परिषद् सदस्य रामेश्वर संगतसहित कर्मचारी, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, महानगर वातावरण विभागका प्रमुख सरिता राई, महानगर टेकुका प्रमुख मीनबहादुर थापासहित कर्मचारी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीलगायत जनप्रतिनिधि एवं स्थानीयवासीको सक्रियतामा हिजो त्यस क्षेत्रमा सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभएको छ ।