
काठमाडौँ, ३ फागुनः आज नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ । उहाँ नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।
सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसकारुपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ । जंगीअङ्डामातहत पृतना, बाहिनी, गण र गुल्म तथा कूटनीतिक नियोग र शान्ति मिसनमा पनि विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइने सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभएको छ ।