काठमाडौं,४ फागुन । अधिकांश सरकारी कार्यालय, कारगार र प्रमुख राजमार्गहरु नेपाली सेनाको निगरानीमा रहेको थाहाभएको छ । यसैक्रममा सेनाले आजबाट दोलखाका बिभिन्न ठाँउमा मोटरसाईकल पट्रोलिङ शुरु गरेको सूत्रहरुले उल्लेख गरेका छन् । आगामी २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ सफल बनाउन दोलखाको सदरमुकाम चरिकोटस्थित गरुड दल गणले आजबाट दोलखाको बिभिन्न स्थानमा मोटरसाईकल पट्रोलिङ शुरु गरेको गणपति कर्णेल लोकसागर कटुवालले समाचारदाताहरुलाई बताउनु भएको छ । नेपाली सेनाको गरुड दल गणबाट आज खटिएको टोलीले दोलखाको भीमेश्वर नगरपालिका– ६ को सिमपानी, सातदोबाटो, बालगृह, कमिनचौर, पिपलबोट, धर्मघर, किराँतीछाप र तामाकोशी इलाकामा मोटरसाईकल पट्रोलिङ गरेको थियो । त्यसैगरी सुदूरपश्चिम प्रदेशका सात जिल्लाको कारागार सुरक्षाको जिम्मेवारी सेनाले सम्हालेको समाचार प्राप्त भएको छ ।

तराईको कैलाली र कञ्चनपुर सदरमुकाममा भएका जिल्ला कारगारसँगै सेनाले पहाडी जिल्ला बैतडी र बाजुराबाहेक बाँकी सात जिल्लामा रहेका कारागारको सुरक्षा जिम्मेवारी लिएको नेपाली सेनाले जनाएको छ । सेनाको श्रीनं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकका अनुसार वाहिनीअन्तर्गत रहेका कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङमा रहेका कारागारको सुरक्षामा सेना तैनाथ भइसकेको छ । बैतडीमाभने कारागार निर्माणाधीन अवस्थामा रहेकाले सेना खटिनु नपरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभएको छ । त्यसैगरी नेपाली सेनाको श्री नं ५ वाहिनी अड्डाअन्तर्गतका डोटी, कैलाली र अछाममासमेत कारागार सुरक्षार्थ सेना खटिएको छ ।

सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनामा सेना परिचालनगर्ने मन्त्रिपरिषद्को निर्णयअनुरुप सेना खटिएको बताइन्छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सागर बोहराले त्यहाँका सातजिल्लाका कारागार, विनमास्थल सुरक्षा र धनगढीस्थित आयल निगमको डिपोमा सेनाले सुरक्षा दिइरहेको जानकारी दिनुभएको छ । सेनाको टोलीले बिभिन्न निर्वाचन क्षेत्रमा गस्तीलगायत सुरक्षा प्रबन्ध गरिरहेको जानकारहरुको भनाई छ ।