
काठमाडौं,४ फागुन । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपालको निर्वाचनमा अमेरिकी प्रभाव बढ्दै गएको खुलाशा गर्नुभएको छ । अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा) द्वारा आयोजित गिलासमा भोट हालौँ शीर्षकको अडियो गीतको भर्चुअल विमोचन कार्यक्रममा मन्तव्य राख्दै उहाँले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले पहिलेपहिलेका चुनाव नेपालका राजनीतिक पार्टीमाझ हुने गर्दथे । तर अहिलेको परिस्थिति फरक छ । अहिलेको चुनाव देशभक्त नेपाली जनता र अमेरिकी साम्राज्यवादको माझमा हुन गइरहेको छ भन्नुभएको थियो । उहाँले यो चुनावमार्फत अमेरिकी साम्राज्यवादलाई पराजित गर्नुपर्ने दायित्व देशभक्त नेपाली जनतामा आएको पनि बताउनु भएको थियो ।
डोनाल्ड ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले विश्वभरि नै आधिपत्य कब्जा जमाउन खोजिरहेको उहाँले बताउनुभएको थियो । नेता सिंहले हामीले देखिरहेका छौँ, अमेरिकाले ग्रिनल्यान्ड, क्यानडा, पनामा, गाजापट्टीजस्ता देशमा कब्जा जमाउन खोजिरहेको छ भन्नुभयो । अमेरिका चीनका विरुद्ध नेपाललाई पनि कब्जागर्ने रणनीतिमा रहेको उहाँले बताउनुभएको थियो । उहाँले बाहिरबाट शक्तिशालीजस्तो देखिए पनि आन्तरिक रुपमा अमेरिका कमजोर बन्दैगएको बताउनुभएको थियो । उहाँले बाहिरबाट अमेरिका बलियोजस्तो देखिए पनि भित्रभित्रै कमजोर हुँदैगइरहेको छ । डेनमार्क, क्यानडा, युरोप, रुस, चीन, इरान, भारतजस्ता साम्राज्यवादी देशहरु नै अमेरिका विरुद्ध उभिएका छन् भन्नुभयो ।
महामन्त्री सिंहले विश्वका शान्तिप्रेमी जनताको बलबाट अमेरिकी साम्राज्यवादलाई पराजितगर्न सकिने धारणा राख्नुभएको थियो । फरक प्रशंगमा उहाँले नेपालमा भ्रष्टाचार गम्भीर समस्याकारुपमा रहेको बताउनुभएको थियो । उहाँले नेपालमा भ्रष्टाचार गम्भीर समस्या भएको छ । तर भ्रष्टाचारबाट बचेको, त्यसको विरुद्ध संघर्षगर्दै आइरहेको नेपालमा एउटा पार्टी छ । त्यो हो राष्ट्रिय जनमोर्चा । त्यसको चुनाव चिन्ह गिलासमा मतदान गर्न म नेपाली जनतासित अपिल गर्दछु भन्नुभएको थियो ।