काठमाडौं, ११ फागुन । एमालेका सबै संगठित सदस्य निर्वाचन प्रचारमा परिचालित हुनुपर्ने भएको छ । सो पार्टीले आफ्ना संगठित सदस्यलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनतासँग प्रत्यक्ष भेटघाटगर्न निर्देशन दिएको छ । निर्वाचन नजिकिँदै गर्दा एमालेले चुनावी अभियानका क्रममा छलाख ६२ हजार संगठित सदस्यलाई मतदातासँग प्रत्यक्ष भेटघाटगर्न निर्देशन दिएको एमाले प्रचार विभाग प्रमुख मीनवहादुर शाहीले जानकारी दिनुभएको छ ।
भर्चुअलभन्दा मतदातालाई प्रत्यक्ष भेटघाट गरेर आफ्नो पार्टी नेतृत्वमा बनेको सरकारले गरेका राम्रो कामको प्रचार गरेर मत माग्न उम्मेदवार, पार्टी सदस्यलाई निर्देशन दिइएको उहाँले बताउनुभएको छ । उहाँले भूगोलमा रहेका सबै संगठित सदस्यलाई मतदातालाई प्रत्यक्ष भेटेर चुनावी प्रचारप्रसारमा लाग्न निर्देशन दिइएको छ । जुन संगठित सदस्य जहाँ छन्, त्यहीका मतदातालाई भेटेर मत माग्न भनिएको बताउनु भयो ।
एमाले यसपटक चुनावीसभा नगरेर मतदातालाई प्रत्यक्ष भेटघाटका कार्यक्रमलाई प्राथमिकता दिएर चुनाव केन्द्रित अभियान सञ्चालन गरिरहेको बताइएको छ । सो पार्टीका अध्यक्ष केपी ओली स्वयं बिभिन्न क्षेत्रमा भैरहेको घरदैलो कार्यक्रममा सहभागि भैरहनु भएको सो पार्टीले जनाएको छ ।