काठमाडौं, १० फागुन । एमालेद्वारा बर्तमान सरकारले आगामी २१ गतेको निर्वाचनका लागि भयरहित वातावरणमा बनाउन नसकेको भन्दै आलोचना गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा पत्रकार सम्मेलनगर्दै पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले एमालेले मुलुकमा चुनाव नजिकिँदैगर्दा असुरक्षा र त्रासको वातावरण सिर्जना भएकाले शान्ति सुरक्षा कायमगर्न माग गरिएको बताउनुभएको थियो । एमालेले आगामी २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई भयरहित, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सरकारसँग माग गरेको उहाँको भनाई थियो । प्रचार विभाग प्रमुख शाहीले विभिन्न स्थानमा एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाउने तथा पार्टी नेतृत्वविरुद्ध घृणा फैलाउने गतिविधि तीव्र बनेको उल्लेखगर्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको बताउनुभयो ।
निर्वाचन घोषणा भएयता हजारौँ कैदीबन्दी र सुरक्षा निकायका लुटिएका हातहतियार बाहिरै रहेकाले आपाराधिक गतिविधि बढ्न सक्नेभन्दै यसअघि नै सरकारको ध्यानाकर्षण गराइएको थियो । पछिल्लो समय विभिन्न स्थानमा अमूक दलको नारासहित एमाले नेतृत्वविरुद्ध अभद्र व्यवहार तथा झण्डा जलाउने घटना भएको दाबी गर्दै पार्टीले यसलाई चुनावीद्वन्द निम्त्याउने षड्यन्त्रको भएको बताएको छ । एमालेले रौतहटको गौरमा जारी अनिश्चितकालीन कफ्र्यूलाई उदाहरणका रुपमा प्रस्तुतगर्दै पार्टीले यसले मतदाताको निर्भिक मतदान अधिकार प्रभावित हुने जनाएको छ । होली पर्वको अवसरमा अमुक पार्टी र त्यसका नेताको तस्बिर तथा चिन्ह अंकित टिसर्ट वितरण गरिएको घटनालाई एमालेले आचारसंहिता उल्लंनको उदाहरणका रुपमा उल्लेख गरेको छ ।