
काठमाडौं, १० फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजवादी व्यवस्थालेमात्रै वर्तमान समस्या समाधान गर्नसक्ने बताउनु भएको छ । ख्वपः मावि, ख्वपः कलेज, शारदा क्याम्पस मावि र ख्वपः कलेज अफलमा कार्यरत शिक्षक तथा कर्मचारीबीच ‘ख्वपःको शैक्षिक यात्रा’ विषयक कार्यक्रममा उहाँले विश्वमा शान्ति कायमगर्न पनि समाजवाद आवश्यक पर्ने बताउनुभयो । ख्वपः विश्व बिद्यालय भक्तपुरको मात्रै आवश्यकता नभई देशको आवश्यकता रहेको बताउँदै अध्यक्ष बिजुक्छेंले ख्वपः विश्वबिद्यालयले दिने शिक्षा उत्पादन र श्रमसँग जोड्नुपर्ने उल्लेख गर्नुभयो । ख्वपः विश्वबिद्यालयले नेपाल सरकारबाट कुनै पनि आर्थिक अनुदानको अपेक्षा नगरेको बताउँदै उहाँले आधुनिक चिकित्सकीय शिक्षालगायत कृत्रिम बौद्धिकता, आयुर्वेद, जडीबुटी, वैकल्पिक चिकित्सा शिक्षालाई जोड दिएर दक्ष जनशक्ति उत्पादन गरिरहेको जानकारी दिनुभएको थियो ।
सुसंस्कृत समाज निर्माणका लागि बिद्यालय शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने, विश्वबिद्यालय शिक्षा निःशुल्क हुने कानूनी व्यवस्था जरुरी रहेकोभन्दै नेमकिपाका अध्यक्ष बिजुक्छेंले शिक्षाको मुख्य उद्देश्य देशलाई आवश्यक जनशक्ति तयार गर्ने हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वबिद्यालयलाई समाज बुद्धिजीवीकरण अभियानको अगुवाइ गराउने नीति बनाउनु उपयुक्त हुन्छ । नेपालको वन, खनिज, जलस्रोतको अध्ययन र अनुसन्धान, रैथाने ज्ञानको संरक्षण तथा प्रवर्द्धनलगायत काम विश्वबिद्यालयतहमा गराउँदा मुलुक विकासमा अघि बढ्ने भएकाले समृद्धि हासिल हुनेछ भन्नुभएको थियो ।