रौतहटको गौरमा कफ्‌र्यु आदेश जारी

काठमाडौं,१० फागुन । रौतहटको गौरमा आज पनि कफ्र्यु जारी रहेको छभने सुरक्षाका लागि हिजैबाट सेना परिचालन गरिएको छ । हालसम्म बिभिन्न पार्टी सम्बद्ध २३ जना भन्दा बढी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटकाअनुसार झडपमा सहभागी जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेदसहित र हिन्दू पक्षका वडा अध्यक्ष बिहारीप्रसाद साह तेलीसहित २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार दुवै समुदायका बीचमा छलफल गराएर प्रशासनले सहमति गराए पनि हिजो शनिबार बिहानैदेखि फेरी झडप शुरुभएको थियो । झडप र आगजनी हुनथालेपछि प्रशासनले त्यस क्षेत्रमा कफ्र्यु लगाउनुकासाथै सेना परिचालन गरेको थियो ।

कफ्र्यु लगाएपछि स्थिति प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले बताउनु भएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले आज आइतबार पनि कफ्र्यु जारीरहने बताउनु भएको छ । आज बिहान दुई घण्टाका लागि कफ्र्यु केही खुकुलो पारिएको थाहा भएको छ । त्यहाँको सुरक्षा अवस्थाका बारेमा केन्द्रीय सुरक्षा समितिमा समेत गम्भीर छलफलभई निर्देशन जारी भैसकेको छ ।

गौर सहित समग्र मधेसको शान्ति सुरक्षाको अवस्था बुझ्न कार्य विभागका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीलाई खटाउने निर्णय भएको थाहा भएको छ । केन्द्रीय सुरक्षा समितिले त्यहाँ दुवै पक्षलाई सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रहगर्दै गैरकानूनी कार्यगर्नेलाई कानूनी दायरामा ल्याइने कडा निर्देशन जारी गरिएको छ ।