काठमाडौं, १० फागुन । शिरानमा छ भिरालो जग्गामा गुुजुमुज्ज परेको म्याग्दीको दोबागाउँ । गाउँको पुछारमा उजाड लाग्दो पाखो छ । पाखोको छेउमै छ पहेँलो रङको पक्की भवन । अनकन्टारजस्तो ठाउँमा आकर्षक देखिने त्यो भवन दोवाको पालिकास्तरीय अस्पताल भवन हो । ०७८ सालमा निर्माण सम्पन्न भएको त्यो भवन बाहिर हेर्दा चिटिक्कको देखिए पनि भित्र खण्डहरजस्तै बनेको छ । कारण हो– अस्पताल सञ्चालनमा आउन नसक्नु । निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि पाँच शय्या क्षमताको सो अस्पतालमा न उपकरण आए, न त चिकित्सक नै । अहिले करोडौँ रुपैयाँ खर्च गरेर बनाएको सो भवन अलपत्र अवस्थामा छ ।
उत्तरी म्याग्दीको अन्नपूर्ण–१ मा पर्छ दोवागाउँ । अस्पताल भवनबाट गाउँमा पुग्न गाडीमा १५–२० मिनेट लाग्छ । गाउँदेखि टाढा अपायक ठाउँ । न राम्रो सडक न व्यवस्थित बस्ती । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने नीतिअनुरुप स्थानीयवासीले जग्गादान दिएर निर्माण गरिएको सो अस्पताल दोवावासीका लागि अहिले ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैँ भएको छ । बजेट अभाव र जनशक्ति व्यवस्थापन नहुँदा अस्पताल भवन प्रयोगमा आउन नसकेको अन्नपूर्ण–१ दोवाका वडाध्यक्ष दिलीपकुमार गर्बुजाले बताउनुभयो ।
वडाध्यक्ष गर्बुजाका अनुसार चारवर्ष अगाडि निर्माण सम्पन्न भएको पाँच शय्याको पालिकास्तरीय अस्पतालको भवन उपकरण, चिकित्सकसहितको जनशक्ति व्यवस्थापनमा तीनै तहको सरकारको ध्यान नपुग्दा अलपत्र अवस्थामा पुगेको हो । १२ रोपनी सात आना दुई दाम क्षेत्रफल रहेको अस्पताल रविना–अमित जेभीले रु पाँच करोड १२ लाख ६० हजार ६५२ मा ठेक्कालिई निर्माणगरेको अध्यक्ष गर्बुजाले बताउनुभयो । अस्पताल निर्माण गर्न स्थानीय सात व्यक्तिले १२ रोपनी सात आनाभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको गर्बुजाले बताउनुभयो । अस्पतालमा अपांगमैत्री भवनमा आकस्मिक कक्ष, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवास सहित ३५ कोठा छन् ।
अस्पताल भवन बनेर पनि सञ्चालनमा आउन नसकेपछि सामान्य बिरामीपर्दा पनि उपचारका लागि बेनी धाउनुपरेको अन्नपूर्ण–१ दोबाकी मनसरा गर्बुजाले गुनासो गर्नुभयो । पाँच शय्या क्षमताको भूकम्पप्रतिरोधी भवन निर्माण भए पनि प्रदेश र संघीय सरकारले आवश्यक स्रोतसहितको जनशक्ति व्यवस्थापन गर्न नसकेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले बताउनुभयो । रासस