काठमाडौं,१२ फागुन । रौतहटको गौर नगरपालिका–६ सबगढामा सद्भाव भड्काउने अभियोगमा २२ जनाविरुद्ध मुद्धा दर्ता गरिएको छ । गत बिहीबार एउटा विवाहमा भएको दुई समुदायबीचको विवादमा सद्भाव भड्काउनेगरी भएको तोडफोडमा संलग्न २२ जनालाई प्रहरीले पक्राउगरी आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्धा दर्ता गरेर अनुसन्धान शुरुगरिएको हो । पक्राउ पर्नेमा शुभनारायण साह, समिर मियाँ, शेख अलियास, शेख अरमान, रितेशकुमार राम, रितिककुमार यादव, दीपेन्द्र चन्द्रवंशी, विनोदकुमार साह, शेख रहम्तुल्लाह, शेख मैनुदिन, अब्दुल रुमान, दिपलाल पासवान, ललन साह, शेख निराले, शेख सागिर, अहम्मद राजा, सर्फुदिन अंसारी, अफरोज महम्मद, दिपक कुशवाहा, अब्दुल समिर, बिहान साह र महम्मद कैफ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभएको छ ।

गौर–६ का वडाध्यक्ष अबधविहारी साह र पूर्ववडाध्यक्ष एवं जनमत पार्टीका जिल्ला संयोजक शेख जमशैदलाई आवश्यक परेको बखतमा उपस्थिति गराउने शर्तमा रिहागरिएका प्रवक्ता बस्यालले जानकारी दिनुभएको छ । जिम्मा जमानीमा छुटेका साह र जमशैदसहित तीनजना व्यक्तिको मोबाइल प्रहरी नियन्त्रणमा राखिएको र मोबाइल परीक्षणका लागि काठमाडौं पठाइने उहाँले बताउनुभएको छ । सुरक्षा निकायले घटनामा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा खोजीकार्य जारी रहेको र प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ ।