
काठमाडौं,१३ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल रिहा हुनुभएको छ । सर्वोच्च अदालतले हिजो उहाँलाई तत्काल थुनामुक्तगर्न आदेश दिएको थियो । कट्टेललाई प्रहरीले गैरकानूनी रुपमा थुनामा राखेको ठहरगर्दै अदालतले छाड्न आदेश दिएको हो । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । कट्टेलको पक्षमा परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइगर्दै अदालतले सरकारको कदमलाई अवैधानिक भनेको छ ।
अदालतले आदेशमा मुख्यरुपमा तीनवटा कुरा औंल्याएको थाहाभएको छ । शान्तिपूर्णरुपमा निर्वाचन बहिष्कार गर्ने भन्नु र त्यसका लागि आह्वानगर्नु नागरिकको राजनीतिक अधिकार भएको अदालतको ठहर छ । विचार व्यक्त गरेकै आधारमा कसैलाई पक्राउगर्न नमिल्ने आदेशमा उल्लेख छ । त्यस्तै कट्टेलले कतै पनि हिंसा भड्काएको वा सामाजिक अशान्ति फैलाएको ठोस प्रमाण सरकारले पेशगर्न नसकेको अदालतले जनाएको छ । पक्राउ पूर्जीमा कुन कानूनअनुसार उहाँलाई गिरफ्तार गरिएको हो भन्ने स्पष्ट आधार समेत नदेखिएको अदालतको निष्कर्ष छ । ७५ वर्ष पुगिसकेका कट्टेल मधुमेह र उच्च रक्तचापका बिरामी भएको र उहाँलाई नियमित औषधि उपचारको आवश्यकता रहेको कुरालाई पनि अदालतले ध्यानमा राखेको देखिएको छ ।
अदालतले उहाँलाई थुनामा राख्नुपर्ने कुनै उचित कारण नभएकोभन्दै सर्वोच्चका सह–रजिष्ट्रारको रोहवरमा तत्काल रिहागर्न गृह मन्त्रालय र प्रहरीलाई निर्देशन दिए लगत्तै कट्टेल रिहा हुनुभएको थियो ।