काठमाडौं, १३ फागुन । बिभिन्न कम्युनिष्ट पार्टी सम्बद्ध चारवटा बिद्यार्थी संगठनहरुले आज एक संयुक्त वक्तव्य जारीगर्दैै देशको स्वाधीनतामाथि साम्राज्यवादी हस्तक्षेप भएको दाबि गरेका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठ, नेकपा बहुमत निकट अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाह, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालका अध्यक्ष हिमांशु र अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष मनिष भट्टराईले जारी गर्नुभएको संयुक्त वक्तव्यमा उपरोक्त कुरा उल्लेख छ ।
वक्तव्यमा वक्तव्यमा हालैको आन्दोलनका क्रममा गिरफ्तार गरिएका नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला लगायतका नेताहरु, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पिबिएम सोमानसिंह तामाङ, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य नरेन्द्र बहादुर रिजाल, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा विद्यार्थी नेता बासुदेव बुढा र नरेन्द्र विकलाई यथाशीघ्र ससम्मान रिहाईको जोडदार माग गरिएको छ । वक्तव्यमा अगाडि भनिएको छ–शैक्षिक क्षेत्रको आमूल रुपान्तरण, भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना, वैदेशिक हस्तक्षेपको अन्त्य र राष्ट्रिय स्वाधीनताको रक्षार्थ हामी संयुक्त विद्यार्थी संगठन निरन्तर संघर्षरत छौं । कुनै पार्टी, संगठन वा विचारधारामा आस्था भएको वा फरक मत राखेकै आधारमा गिरफ्तार गरिनु लोकतान्त्रिक मूल्यमान्यताको चिरहरण, मानव अधिकारको गम्भीर उलंघन र अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज हो ।
यसप्रकारको सरकारी श्वेत आतंक प्रति घोर भत्सर्ना र कडा निन्दा व्यक्त गर्दछौं । बक्तब्यमा गिरफ्तार नेताहरुको पक्षमा मुद्धा लड्ने अधिवक्ताहरुमाथिको धरपकड, सुप्रीया नेपाली लगायतको गिरफ्तारीले राज्यको हिंसात्मक अशान्ति मच्चाउने हिंस्रक चरीत्र उदांगो भएको छ । फरकमत राखेर संघर्षको क्रममा गिरफ्तार नेताकार्यकर्ता र अन्य सबैको यथाशीघ्र ससम्मान रिहाईको जोडदार माग गर्दछौ । राज्यको यसप्रकारको हिंसा भडकाउने प्रवृत्तीबारे गम्भीर बनेर मानव अधिकारको रक्षा र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पहलकदमी लिन नागरिक समाज, मानव अधिकारवादी संघसंस्था, बुद्धिजीवी लगायत सबैमा आग्रह गर्दछौ भनिएको छ ।