काठमाडौं,१४ फागुन । नेकपा(बहुमत)का सचिवालय सदस्यलाई झापाबाट गिरफ्तार गरिएको थाहा भएको छ । सो पार्टीले आफ्ना नेताको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ । पार्टीका केन्द्रीय कार्यालय सचिव अविरलद्वारा जारी प्रेस वक्तव्यमा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नम्बर ब्युरो इन्चार्ज धमिलसहित झापा जिल्ला कमिटी सदस्य हेम आचार्यलाई हिजो फागुन १३ गते करिब २ बजे झापाबाट पक्राउ गरिएको उल्लेखगर्दै पार्टीले सो घटनालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको बताउनु भएको छ । उहाँले न्यूनतम लोकतान्त्रिक अधिकारको समेत उल्लंघन भएकोभन्दै गिरफ्तार नेताहरुलाई बिना शर्त रिहागर्न माग गर्नुभएको छ ।

त्यसैगरी अन्य मित्र कम्युनिष्ट पार्टीका नेताहरुको गिरफ्तारीप्रति आपत्ति जनाउदैसम्पूर्ण राजनीतिक बन्दीहरुको सम्मानपूर्वक रिहाइ हुनुपर्ने पार्टीको भनाइ रहेको जनाइएको छ । वक्तव्यमा पार्टीले स्थापना कालदेखि उठाउँदै आएका एजेन्डा र जनताको नाममा सञ्चालन गरिएको आन्दोलनका मुद्दाहरुलाई बेवास्ता गरिएको आरोप पनि लगाइएको छ । सो पार्टीले संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रताको सम्मानगर्न सरकारसँग आग्रह गरेको छ ।