काठमाडौं, १५ फागुन । ०७२ को संविधानका संघीयता, जातीय समाबेशी, धर्मनिरपेक्षता र समानुपातिक सहितको मिश्रित निर्वाचन प्रणाली अमेरिकालगायतका पश्चिमा राष्ट्रबाट प्रायोजित रहेको भन्ने बिरोध भैरहेका बेला नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले संविधानमा परिमार्जनगर्ने इच्छा ब्यक्त गर्नुभएको छ । हिजो काठमाडौंको कोटेश्वरमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा उहाँले उपरोक्त इच्छा ब्यक्त गर्नुभएको हो । सो पार्टीले संविधान कार्यान्वयनको समीक्षा एवं पुनरावलोकनगरी शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायत बिभिन्न विषय परिमार्जनगर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । निर्वाचनको सम्मुखमा एक अपिल जारीगर्दै नेकपाले उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरेर आजसम्म सार्वजनिक पद धारणा गरेका व्यक्तिको सम्पत्ति छानबिन गरिने दृढता पनि व्यक्त गरेको छ ।

भ्रष्टाचार गरेर आर्जन गरेको सम्पत्ति राष्ट्रियकरणगर्ने नेकपाको भनाई छ । भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन, पूर्णपारदर्शीता, शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप राज्यका सबै अंगको सञ्चालन र संघीयताको मर्मअनुरुप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदानगर्ने नेकपाको प्रतिबद्धता छ । नेकपाले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका निम्ति त्यही दृढताकासाथ उभिने प्रतिबद्धता जाहेर गरेको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालद्वारा संयुक्तरुपमा जारी अपिलमा नेपाली जनताले लामो बलिदानी संघर्ष गरेर स्थापना गरेको लोकतान्त्रिक गणतान्त्रिक प्रणालीविरुद्धका सबै षड्यन्त्रलाई परास्तगर्दै यसलाई सुदृढ र सुस्थिर बनाउँदै समाजवादी लोकतन्त्रको रुपमा विकासगर्न चाहन्छौँ भनिएको छ । नेकपाले जातीय छूवाछूत तथा छाउपडीजस्ता कुरीति र अन्धविश्वास, विभेदकारी व्यवहार, असमानता, उत्पीडन, कुरीति र अन्धविश्वासको अन्त्यगर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

गरिबी र बेरोजगारी समस्या समाधानगर्न कृषि उत्पादनमा वृद्धि, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास, औद्योगिक उत्पादनमा वृद्धि, ऊर्जा उत्पादनमा वृद्धि, व्यापार प्रवद्र्धन तथा पर्यटन उद्योगको विकास र पर्यटन आगमनमा वृद्धिगर्न विशेष योजना बनाएर कार्यान्वयन गरिने अपिलमा उल्लेख छ । अपिलमा राज्यकोष बलियो बनाउन प्रगतिशील कर लगाइनेछ, वित्तीय क्षेत्रमा नीतिगत र संरचनागत सुधार गरिनेछ । गरिबीको अन्त्यगर्न लक्षित वर्ग र समुदायकेन्द्रित कार्यक्रम सञ्चालन गरिने, प्राकृतिक सम्पदा र वातावरणको संरक्षणगर्दै दिगो विकासका लागि प्राकृतिक स्रोतको सदुपयोग गरिनेछ ।

विकासका योजना निर्माण गर्दा विपद्जन्य जोखिम र त्यसको व्यवस्थापनमा ध्यान दिने नीति अवलम्बन गरिनेछ भनिएको छ । नेपाली समाजमा व्यापक रुपमा आर्थिक–सामाजिक रुपान्तरणका अभियान सञ्चालन गरेर समाजवादको आधार निर्माण गरिने नेकपाको उद्घोष छ । नेकपाले नेपालसँग भएका असमान सन्धि–सम्झौता खारेजगर्न र नेपालको अतिक्रमित भूमि फिर्ता गर्न प्रतिबद्ध रहेको जनाएको छ ।