काठमाडौं १६ फागुन । तनहुँ जलविद्युत आयोजना अन्तर्गत प्रसारण लाइन निर्माणका लागि नौ हजार १२७ रुखपोल हटाइने भएको छ । आयोजनाको प्याकेज तीन अन्तर्गत प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनमापर्ने ९२.७ हेक्टर वन क्षेत्रको जग्गा भोगाधिकार पाउनुका साथै त्यहाँ रहेका नौहजार १२७ रुखपोल हटाउन अनुमति पाएको हो । मन्त्रिपरिषद्को निर्णय बमोजिम आयोजनाको दमौली भरतपुर २२० केभी प्रसारण लाइनको टावर निर्माण र मार्गधिकारमा चितवन र तनहुँ जिल्लामा पर्ने वन क्षेत्रको जग्गा र त्यहाँ रहेका बोटविरुवा हटाउन तनहुँ हाइड्रोपावर लिमिटेड र वन तथा भूसंरक्षण विभागबीच हालै सम्झौता भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभएको छ । उक्त सम्झौता कार्यान्वयनका लागि डिभिजन वन कार्यालय चितवनमा पत्राचार गरिसकिएको भण्डारीले बताउनुभएको छ । उक्त निर्णय नहुँदा प्रसारण लाइन निर्माणमा समस्या भइरहेको थियो ।
यस प्याकेजको निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेड भारतले दमौली भरतपुर २२० केभी ३३ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ७८ वटा टावरहरुको जग हाल्ने र ६९ वटा टावर जडान कार्य सम्पन्न गरिसकेको छ । यस प्याकेजको समग्र प्रगति ७५ प्रतिशत रहेको भण्डारीले बताउनुभयो । तनहुँ जलविद्युत आयोजनाको तीन वटा प्याकेजमा काम भइरहेको छ । प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ५४ प्रतिशत प्रगति भएको भण्डारीले बताउनुभयो । मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङलगायतका संरचनाको निर्माणकार्य सकिएको छ । मुख्य बाँध निर्माणका लागि सेती नदीलाई ०८० कात्तिक २० गते पथान्तरण गरिएको थियो । ०८१ जेठमा मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माणकार्य सकिएको जनाइएको छ । प्याकेज २ अन्तर्गत बिद्युत गृह तथा सम्बन्धित उपकरणको काम सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ ।
यस अवधिसम्म भूमिगत संरचना निर्माणका लागि खन्नेकार्य सम्पन्न गरी अधिकांश संरचनाको सिभिल निर्माणकार्य सम्पन्न भएको भण्डारीले बताउनुभयो । बिद्युत गृह, केवल सुरुङ, सर्च ट्यांक, टेलरेसलगायतका संरचनाको मुख्य कंक्रिटिङकार्य सम्पन्न भएको यस प्याकेजको प्रगति ७३ प्रतिशत रहेको छ । भण्डारीका अनुसार बिद्युतगृहको सिभिलकार्य करिब सम्पन्न भएको छ भने इलेक्ट्रोमेकानिकलकार्य जारी छ । बिद्युतगृहमा छाना लगाउने, पानी फाल्नेलगायतका काम भइरहेका छन् । रासस