काठमाडौं,१७ फागुन । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका उजुरीमध्ये ९४ लाई स्पष्टीकरण सोधिएको थाहा भएको छ । राजनीतिक दल तथा उम्मेदवारहरुलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ प्राप्तभएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ८८ जनालाई स्पष्टीकरण र छजनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानून अधिकृत मोहनराज जोशीले जानकारी दिनुभयो । दोहो¥याएर स्पष्टीकरण सोध्दा पनि चित्तबुझ्दो जवाफ प्राप्त नभएपछि आयोगले आठजनालाई कारवाही गरेको उहाँले बताउनुभयो । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको हो । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरणलगायत कारवाहीका लागि लेखी पठाइएको जोशीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षण गरेर दल र उम्मेदवार विशेष निर्वाचितहुँदै भनी समाचार सामग्री प्रकाशनगर्ने सेतोपाटी अनलाइनलाई पनि प्रेस काउन्सिलमार्फत स्पष्टीकरण सोधिएको छ । जिल्लास्तरमा समेत निर्वाचन आचारसंहिना उलंघनविरुद्धका उजुरी प्राप्तभई आवश्यक कारवाही भइरहेका छन् । निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उलंघनका घटनालाई न्यूनीकरणगर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारवाहीको प्रक्रिया अघि बढाइरहेको छ । प्राप्त भएका ५७ वटा जवाफको थप अध्ययन भइरहेको पनि आयोगले जनाएको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरु क्रियाशील रहेको कानून अधिकृत जोशीले बताउनुभयो । जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता– ०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक÷कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।

छोटो समयमा सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रुपमा भइरहेको आयोगले जनाएको छ । जिल्लास्तरमा आएका उजुरीका सम्बन्धमा जिल्लाबाटै स्पष्टीकरण सोधी जवाफ मागगरेर दोषी देखिएकालाई कानूनी कारवाहीको प्रक्रिया अघि बढाइएको आयोगका कानून अधिकृत जोशीले उल्लेख गर्नुभएको छ । जिल्लाजिल्लामा गरी हालसम्म एकहजार ७६ वटा उजुरी प्राप्त भएकामा एकहजार ६१ वटाको फछ्र्यौट गरिएको आयोगले जनाएको छ । उहाँका अनुसार राजनीतिक दल र उम्मेदवार निर्वाचन आचारसंहिता–०८२ उल्लंघनसम्बन्धी लुम्बिनी प्रदेशका जिल्लामा बढी उजुरी परेका छन् । रासस