
काठमाडौं, १८ फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ढुक्क भएर मतदानगर्न मतदातालाई आव्हान गर्नुभएको छ । गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उच्च अधिकारीको टोलीलिई निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमनका लागि बाँकेको नेपालगञ्जहुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुग्नुभएका मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्तगर्दै मतदातालाई ढुक्क भएर आफ्नो मताधिकारको प्रयोगगर्न आह्वान गर्नुभएको हो ।
मन्त्री अर्यालले निर्वाचनमा कुनै पनि किसिमको गैह्रकानूनी कृयाकलाप भएमा वा गराइएमा दोषीलाई कानूनी दायरामा ल्याएर कडा कारबाही गरिने बताउनुभयो । साथै धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र उम्मेदवारको सुरक्षालाई प्राथमिकतामा राख्न सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभयो । अनुगमन तथा निरीक्षणको क्रममा मन्त्री अर्याललाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लाको समग्र सुरक्षा अवस्थाबारे प्रस्तुति गर्नुभएको थियो ।
जिल्लाको वस्तुस्थितिबारे जानकारी लिइसकेपश्चात मन्त्री अर्यालले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आफूले नेतृत्व गरीरहेको जिल्लाको सुरक्षा अवस्था विश्लेषण गरी सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयनगर्न निर्देशन दिनुभएको थियो । स्थलगत अनुगमन तथा निरीक्षण पश्चात् संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री अर्यालले देशव्यापीरुपमा निर्वाचनको माहोल उत्साहजनक देखिएको बताउँदै निर्वाचनको लागि सुरक्षा तयारी सुदृढ बनाइएको बताउनु भएको थियो ।