काठमाडौं, १८ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधनगर्दै निर्वाचनको संघारमा सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्नुभएको छ । उहाँले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघिबढाउनका लागि सबै मतदातालाई प्रतिनिधिसभा निर्वाचनमा सरिक हुन पनि आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीले भोट हाल्नुभनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनुमात्र होइन, यो त तपाईंले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो भन्नुभएको छ । यही फागुन २१ गते बिहीबारका दिन अरु काम छाडेरै भएपनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिलगर्दै भन्नुभएको छ–निर्वाचनको सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु, शान्ति नै नेपालको असली पहिचान हो । प्रधानमन्त्री कार्कीले एउटा विशेष घडीमा आफूले मनका केही कुरा राख्नचाहेको उल्लेखगर्दै देश फेरि इतिहासको महत्वपूर्ण मोडमा आइपुगेको र यही फागुन २१ गतेका दिन आफ्नो र आफ्नो देशको भविष्यको फैसलागर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले इतिहासकै यो कठीन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रुपमा लिएकी छु । मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर कामगर्ने प्रयास गरेँ । अब केही दिनमा यो देशको बागडोर तपाईंहरुले चुन्ने प्रतिनिधिहरुको हातमा पुग्नेछ, आउनुहोस्, होलीको खुसी साटौँ, फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ भन्नुभयो ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको त्यो परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण थियो । सडकमा युवाको आक्रोश, डर भएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यो कठीन संक्रमणलाई व्यवस्थापनगर्दै, हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डो¥याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो भन्नुभएको छ । प्रधानमन्त्री कार्कीले चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई उम्मेदवारीका लागि धन्यवाददिँदै तपाईंहरुको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो, चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन भन्नुभएको छ । मौन अवधिमा पूर्ण अनुशासन पालनागर्न र त्यसअघिको बाँकी समयमा संयमित ढंगले, एक–अर्कालाई सम्मानगर्दै उहाँले निर्वाचन प्रचार–प्रसारगर्न म सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा यस महान् कार्यमा खटिनुभएका निर्वाचन आयोग, सुरक्षा निकायका साथीहरु र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई म विशेष धन्यवाद दिन चाहन्छु ।
तपाईंहरुको निष्पक्षता र मेहनतले नै यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनेछ भन्नुभएको छ । प्रधानमन्त्री कार्कीले सांस्कृतिक पर्व होली अर्थात् फागुपूर्णिका अवसरमा रङहरुको यो उत्सव र निर्वाचनको यो तयारी दुवै हाम्रा लागि उत्तिकै अर्थपूर्ण रहेको बताउनुभएको छ । प्रधानमन्त्रीले कार्कीले आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठीन संक्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ । विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघिबढ्न सफल भएका छौँ । यो उपलब्धि तपाईं–हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो भन्नुभएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले छोटो र कठीन समयमा कार्यतालिकाबमोजिम सबै तयारी पूरा गरेको उल्लेख गर्दै निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रुपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा प्रदेश र स्थानीय सरकारले आफ्नो सीमाभित्र रही निर्वाचन तयारीमा महत्वपूर्ण सहयोग पु¥याएका छन्, नेपाल सरकारका चारवटै सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षामा कुनै कमी हुन नदिन आफ्ना सबै स्रोत–साधन परिचालन गरेका छन् । राष्ट्रपतिले गर्नुभएको अभिभावकीय सहयोगप्रति व्यक्तिगत रुपमा म र वर्तमान सरकार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ भन्नुभएको छ । छोटो समयमा नेपालले निर्वाचन व्यवस्थापनगर्न सकेकामा मित्रराष्ट्रहरु तथा अन्तरराष्ट्रिय संस्थाहरुबाट पनि उत्साहजनक साथ र प्रतिक्रिया प्राप्तगरेको र निर्वाचन व्यवस्थापनमा वस्तुगत, नगद तथा प्राविधिक सहयोग प्रदानगर्ने मित्रराष्ट्रहरुलाई सबैलाई प्रधानमन्त्री कार्कीले धन्यवाद दिनुभएको छ । साथै उहाँले संयुक्त राष्ट्रसंघीय निकायहरुबाट प्राप्त सहयोगका लागि पनि आभारी व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले आफ्नो अपिलमा सामाजिक सञ्जाल र आमसञ्चारका केही माध्यमबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वहरुलाई सरकारले निगरानीमा राखी कानूनको दायरामा ल्याइरहेको पनि तपाईंहरुलाई जानकारी गराउँदछु । साथै त्यस्ता भ्रममा नपर्न, त्यस्ता तत्वको पछि नलाग्न र मुलुकसामु आएको ऐतिहासिक दायित्व जिम्मेवारीपूर्वक निर्वाहगर्न म सबै देशवासीलाई विनम्र आग्रह गर्दछु भन्नुभएको छ । प्रधानमन्त्री कार्कीले मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम सरकारबाट नहुने उल्लेखगर्दै कानूनबमोजिम गर्नुपर्ने जुनसुकै तहको कारबाहीमा सरकार पछि नहट्ने बताउनुभएको छ । उहाँले यो रङहरुको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ । हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ, निर्वाचनको रङ र होलीको रङ मिलेर देशमा नयाँ उत्साह छाओस् । तर, म आग्रह गर्छु– होली मनाउँदा संयम अपनाऔँ, कसैको इच्छाविपरीत रङ नलगाइदिऊँ भन्नुभएको छ । प्रधानमन्त्री कार्कीले मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको उल्लेखगर्दै इरान र वरपरको तनावले चिन्तित बनाएको उल्लेखगर्दै विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्मरुपमा नियालिरहेको र त्यहाँ रहनुभएका नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरुको सुरक्षा हाम्रो ठूलो चासोको विषय बताउनुभयो । उहाँले त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगलाई सुरक्षासहजीकरणमा कुनै कमी हुननदिन सक्रिय बनाइएको छ, परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ, हामी हरदम तपाईंहरुको साथमा छौँ, नेपाली जहाँ रहेपनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध रहेको बताउनु भएको छ ।