
काठमाडौं, १८ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले लामो संघर्ष र त्यागपछि हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको दाबि गर्नुभएको छ । आज राष्ट्रका नाममा सम्बोधनगर्दै उहाँले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले सम्बोधनमा यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढंगले परिभाषितगर्दै नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवद्र्धनगर्दै नयाँ सम्भावनातर्फ अघिबढ्ने युगीन आवश्यकता भएको उल्लेख गर्नुभएको छ ।
त्यसक्रममा राष्ट्रिपति पौडेलले निर्वाचन हाम्रो राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रुपमा हुनगइरहेको छ । यो निर्वाचन केवल प्रतिनिधि चयनगर्ने संवैधानिक प्रक्रिया मात्रनभई लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर हो । त्यसैले यो निर्वाचनलाई सफल बनाउनु हाम्रो साझा काम र ऐतिहासिक दायित्व हो भन्नुभएको छ । उहाँले निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई अझ विश्वस्त र परिपक्व बनाउने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले देशले विगतका केही वर्षमा महत्त्वपूर्ण उपलब्धि हाशिल गरेको छ । लामो संघर्ष र त्यागपछि हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ । सबैलाई थाहा छ, आज नयाँ संविधानमार्फत समावेशी राज्य संरचना सुनिश्चित भएको छ ।
यस निर्वाचनले निरंकुशताविरुद्ध लामो संघर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र त्यसमा आफ्नो जीवन बलिदानगर्ने शहीदहरुको सपना, नवयुवाहरुको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरागर्नेछ भन्नुभयो । संघीय शासन प्रणालीलाई संस्थागतगर्दै प्रदेश र स्थानीय तहसम्म अधिकार प्रत्यायोजन गरिएको उल्लेखगर्दै राष्ट्रपति पौडेलले सामाजिक सुरक्षा कार्यक्रम विस्तारगर्दै ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरु, दलित, महिला तथा विपन्न समुदायको अधिकारलाई मजबुत बनाउने प्रयास शुरुभएका बताउनुभएको छ । उहाँले पछिल्लो दशकमा शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा र सञ्चार पूर्वाधारमा उल्लेख्य प्रगतिका साथ देश अगाडि बढिरहेको छ । यी उपलब्धि सहजै प्राप्त भएका होइनन्, यी जनताको बलिदान र अटुट विश्वासका साथै उनीहरुको सक्रिय सहभागिताको परिणाम हुन भन्नुभएको छ ।
सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र सेवा प्रवाहका क्षेत्रमा अझ धेरै काम गनुपर्ने आश्यकता औँल्याउँदै राष्ट्रपति पौडेलले आगामी निर्वाचनले त्यही भावधारालाई संस्थागतगर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभउको छ । उहाँले सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारमाध्यम र सम्बन्धित निकायलाई निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्नगर्न पूर्णप्रतिबद्ध रहन आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले मतभिन्नता स्वाभाविक भए पनि सहिष्णुता, मर्यादा र विधिको शासनप्रति सम्मान हाम्रो साझा मूल्य हुनुपर्नेमा जोड दिनुभएको छ ।