
काठमाडौं, २० फागुन । जेनजी आन्दोलनको आबरणमा गत भदौ २४ गते सर्वोच्च अदालत, सिंहदरबारजस्ता महत्वपूर्ण निकायमा तोडफोड र आगजनीमा संलग्न १३ जना विरुद्ध मुद्धा दर्ताभएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उपत्यकाभित्रका प्रहरी कार्यालय, अदालत र सिंहदरबारमा आगजनीगर्ने विरुद्ध मुद्धा दायर भएको हो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठकाअनुसार सिंहदबारमा तोडफोड तथा आगजनीमा संलग्न आशिष गुरुङ विरुद्ध आपराधिक उपद्रो र डाँकासम्बन्धी कसुरमा मुद्धादायर भएको छ । त्यस्तै सर्वोच्च अदालत जलाउनेहरु सुनिल श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापामगर, कुमार पराजुली र राजु परियार विरुद्ध मुद्धादायर भएको छ ।
श्रेष्ठकाअनुसार उनीहरुलाई आपराधिक उपद्रो मच्चाएको अभियोग लगाइएको छ । सर्वोच्च अदालतले गत भदौ २४ गतेको घटनामा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको मागगर्दै काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको थियो । जाहेरीका आधारमा गरिएको अनुसन्धानबाट उनीहरु विरुद्ध मुद्धा चलाइएको हो । श्रेष्ठ, थापामगर, पराजुलीसहितका प्रतिवादीले सर्वोच्च अदालतमा आगजनी गरेर एकअर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँमा बराबरको क्षति पु¥याएको अभियोगपत्रमा उल्लेख छ ।
त्यस्तै प्रहरी वृत्त बौद्ध जलाएको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङ विरुद्ध मुद्धा चलाइएको छ । प्रहरी प्रभाग बलम्बु तोडफोड गरेको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विक विरुद्ध पनि मुद्धा चलाइएको छ । प्रतिवादी सबैलाई अहिले सरकारी वकिल कार्यालयले हाजिर जमानीमा रिहा गरेको छ । अब उनीहरु विरुद्ध अदालतबाट म्याद जारी हुनेछ । सरकारी वकिल कार्यालयले विष्णुप्रसाद ढुंगेल विरुद्धभने मुद्धा नचलाउने निर्णय गरेको छ । उनी घटनास्थलमा उपस्थित भएको भिडियो तथा अन्य प्रतिवादीले पोल नगरेकोभन्दै मुद्धा नचलाउने निर्णय गरिएको हो ।