काठमाडौं, २० फागुन । प्रतिनिधिसभा सदस्यका लागि भोली २१ गते हुने निर्वाचनको तयारी पूरा भएको छभने आचार संहिता उल्लंघन गर्ने ९५ जना माथि आयोगले कारवाही थालेको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्तभएका ४५४ उजुरीमध्ये ९५ लाई स्पष्टीकरण सोधिएको छ । राजनीतिक दल तथा उम्मेदवारहरुलाई स्पष्टीकरण सोधिएकोमा ६२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ८९ जनालाई स्पष्टीकरण र छजनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले राससलाई जानकारी दिनुभएको छ । पुनः स्पष्टीकरण सोधिएका छ जनामध्ये पाँचवटाको जवाफ प्राप्त भएको छ । आयोगले अहिलेसम्म तीनजनालाई ताकेता पत्र लेखेको छ । ताकेतामध्ये एउटाको जवाफ प्राप्तभएको छ । स्पष्टीकरण सोध्दा पनि चित्तबुझ्दो जवाफ प्राप्त नभएपछि आयोगले आठ जनालाई कारबाही गरेको पनि उहाँले बताउनुभयो ।
आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोभनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको हो । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरणलगायत कारबाहीका लागि लेखी पठाइएको छ । निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षण गरेर दल र उम्मेदवार विशेष निर्वाचितहुँदै भनी समाचार सामग्री प्रकाशनगर्ने सेतोपाटी अनलाइनलाई पनि प्रेस काउन्सिलमार्फत नै स्पष्टीकरण सोधिएको छ । जिल्लास्तरमासमेत निर्वाचन आचारसंहिना उल्लंघनविरुद्धका उजुरी प्राप्तभई आवश्यक कारबाही भइरहेको छ ।
निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लंघनका घटनालाई न्यूनीकरणगर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीको प्रक्रिया अघिबढाइरहेको छ । प्राप्त भएका ६२ वटा जवाफको थप अध्ययन भइरहेको पनि आयोगले जनाएको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयह क्रियाशील रहेको कानून अधिकृत मोहनराज जोशीले बताउनुभएको छ । जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता–०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक÷कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमनगर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
छोटो समयमै सबै जिल्लामा सरोकारवालाहरुलाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रुपमा भइरहेको आयोगले जनाएको छ । जिल्लास्तरमा आएका उजुरीका सम्बन्धमा जिल्लाबाटै स्पष्टीकरण सोधी जवाफ मागगरेर दोषी देखिएकालाई कानूनी कारबाहीको प्रक्रिया अघिबढाइएको पनि जनाइएको छ । जिल्ला, जिल्लामा गरी हालसम्म एकहजार ७६ वटा उजुरी प्राप्त भएकामा एक हजार ६१ वटाको फछ्र्योट गरिएको आयोगले जनाएको छ । राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिता–०८२ उल्लंघन गरेभनी लुम्बिनी प्रदेशका जिल्लामा बढी उजुरी प्राप्त भएको जनाइएको छ ।