काठमाडौं,२० फागुन । निर्वाचन आयोगले भोलि बिहीबार हुने प्रतिनिधि सभाको निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । आयोगमा आज पत्रकार सम्मेलन गरेर आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियामा सहभागी हुन आह्वान गर्नुभएको हो । उहाँले ०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनपछि सिर्जना भएको विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग क्रियाशील रहेको बताउनु भएको थियो ।
भण्डारीकाअनुसार भोली २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुनेछ । यसका लागि आवश्यकपर्ने मतपत्र, मतपेटिकालगायतका सम्पूर्ण सामग्रीहरु सम्बन्धित मतदान केन्द्रहरुमा सुरक्षितरुपमा पु¥याइ सकिएको छ । मतदान केन्द्रहरुको निर्माण तथा व्यवस्थापन कार्य सम्पन्न भइसकेको छ । मतदान स्थलहरुलाई लैंगिक तथा अपाङ्गमैत्री बनाइएको र सबै मतदाताको सहज पहुँच सुनिश्चित गरिएको छ । उहाँले मतदान सकिएको २४ घण्टामा मतगणना सम्पन्नगर्ने तयारी भइरहेको पनि बताउनु भएको छ ।