काठमाडौं, २१ फागुन । एमाले नेता खगेन्द्र राईको हृदयघातबाट निधन भएको छ । एमालेका पूर्व केन्द्रीय सदस्य तथा राष्ट्रिय जनसांस्कृतिक मञ्चका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनुभएका राईको गएराति निधन भएको हो । खोटाङको ऐँसेलुखर्क गाउँपालिका निवासी राईको आजका लागि चुनावी प्रचार–प्रसारको काम सकेर घर फर्कने क्रममा हृदयघात भएको थियो । एमाले खोटाङका नेता राम दंगालका अनुसार मोटरसाइकलमा घर फर्कँदै गरेका राई हिजो बुधबार राति करिब ११ बजे बाटोमै अचानक बेहोस भएर लड्नु भएको थियो ।
स्थानीयवासीको सहयोगमा उनलाई उपचारका लागि जालपा स्वास्थ्य चौकी पु¥याइए पनि स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए । लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय राई इमान्दार, सरल र शालीन नेताकारुपमा परिचित हुनुहुन्थ्यो । उहाँले राष्ट्रिय जनसांस्कृतिक मञ्चको केन्द्रीय अध्यक्षका रुपमासमेत कामगर्दै कलाकारिता र सांस्कृतिक आन्दोलनलाई अघि बढाउनुभएको थियो । एमालेको गत महाधिवेशनमा उहाँ ईश्वर पोखरेल समूहबाट केन्द्रीय सदस्य पदका उम्मेदवार बनेर पराजित हुनुभएको थियो ।