काठमाडौं, २१ फागुन । एमालेका महासचिव एवं दाङ निर्वाचन–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेल आजको निर्वाचनमार्फत नेपाली जनताले अराजकता र अस्थिरतालाई अस्वीकारगर्ने बताउनु भएको छ । आज बिहान मतदान गरेपछि स्थानीय समाचारदाताहरुसँग कुरागर्दै महासचिव पोखरेलले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले मुलुकको लोकतन्त्र, संवैधानिक व्यवस्था र राष्ट्रिय हित जोखिममा परेकोभन्दै आजको निर्वाचनले ती विषयलाई जनमतमार्फत पुनःस्थापितगर्ने विश्वास व्यक्त गर्नुभएको तियो ।

उहाँले आजको निर्वाचनलाई नेपालको राजनीतिक इतिहासको एउटा महत्वपूर्ण घटनाकारुपमा लिनुपर्ने पनि बताउनुभएको छ। नेपालको राजनीतिक अस्थिरतानै विकास र समृद्धिको मुख्य बाधक रहेको बताउँदै उहाँले समाजमा देखापरिरहेको लोकरिझ्याइँ र अराजकता राजनीतिक स्थायित्वका लागि ठूलो चुनौती रहेको बताउनुभएको थियो । आजको निर्वाचनबाट सबै समस्याको समाधान नभए पनि यसले सही बाटो समात्ने र भविष्यमा लोकतन्त्रले स्थायित्वको आधार प्राप्तगर्ने उहाँको भनाइ थियो । आजको निर्वाचनको परिणामकाबारेमा उहाँले विचारधाराको जगमा उभिएका नेपालका प्रमुख राजनीतिक दलहरु नै मुख्य शक्तिकारुपमा स्थापित हुने जिकिर गर्नुभएको थियो ।

मुलुकलाई अराजकता र विध्वंशतर्फ लैजाने कुरा राष्ट्रको दीर्घकालीन हितमा नहुने कुरा नेपाली जनताले महशुस गरिसकेको उहाँले बताउनुभएको थियो । उहाँले दक्षिण एशियाली मुलुकहरु श्रीलंका र बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन परिणामको उदाहरणदिँदै ती देशका जनताले जस्तै नेपाली जनताले पनि विध्वंश र अस्थिरतालाई अस्वीकार गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।