काठमाडौं, २१ फागुन । बिभिन्न कम्युनिष्ट पार्टी सम्बद्ध तीनवटा किसान संगठनले संयुक्त बक्तब्य जारीगर्दै इरानमाथि लादिएको युद्ध रोक्न मागगरेका छन् । अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, क्रान्तिकारी किसान महासंघका अध्यक्ष सीताराम तामाङ र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष रामदुलार महतोले जारी गर्नुभएको बक्तब्यमा उपरोक्त माग गरिएको हो । उहाँहरुले बक्तब्यमा भन्नुभएको छ– विश्व र यसका श्रोतसाधनमाथि प्रभुत्व जमाउन एक वा अर्को किसिमले निरन्तर लागिरहेको अमेरिकी साम्राज्यवाद र यसको सहयोगी जातिवादी इजरायलले इरानमाथि जबर्जस्ती लादेको युद्ध र इरानका राष्ट्रप्रमुख खोमेनीलगायत उच्च इरानी अधिकारीको क्रुर हत्यागरेकोमा हामी त्यसको घोर निन्दा र भत्र्सना गर्दछौँ र साम्राज्यवादी युद्धको प्रतिकार गर्दा देहावसान भएका सर्वोच्च नेताका साथै सबैप्रति गहिरो दुःख र समवेदना प्रकट गर्दछौँ ।

यो साम्राज्यवादी युद्धप्रकरणले अन्ततः तेश्रो विश्वयुद्ध निम्त्याउने भयावह खतराको दिशामा विश्वलाई धकेलेको छ र यतिखेर मध्यपूर्व यो युद्धको लपेटामा नराम्रोसँग परेको छ । यसले विश्व अर्थतन्त्र, आपूर्ति श्रृंखला र रोजगारीलाई अत्यन्तै गम्भीर संकटमा पारेको छ र विश्वमा यसको पीडादायक असर लामो समयसम्म रहने खतरा उत्तिकै बढेको छ । अतः विकसित भएको यस भयावह स्थितिमा हामी नेपाली किसानका प्रतिनिधि संस्थाको रुपमा संघर्षगर्दै आएका बिभिन्न किसान संगठन अखिल नेपाल प्रगतिशील किसान संघ, अखिल नेपाल क्रान्तिकारी किसान महासंघ, अखिल नेपाल क्रान्तिकारी किसान महासंघ (अप्फा) संयुक्त राष्ट्र संघको बडापत्र, विश्वमान्य अन्तर्राष्ट्रिय कानून तथा राष्ट्र समुदायको सार्वभौमिकताको सिद्धान्तलाई ठाडै कुल्चिँदै साम्राज्यवादी अमेरिका र जातिवादी मुस्लिम विरोधी इजरायलले शुरुगरेको मध्यपूर्वको विध्वंशकारी युद्ध तुरुन्त विनाशर्त रोकियोस् र राजनीतिक संवाद तथा कूटनीतिक पहलद्वारा समस्याको समाधान खोजियोस् जोडदार माग गर्दछौँ । यो युद्धको लपेटामा परेका नेपालबाट रोजगारीको निमित्त मध्यपूर्वका बिभिन्न देशमा कार्यरत नेपाली मजदुरलगायत सम्पूर्ण श्रमजीवी जनताको जिउधनको सुरक्षा तथा जीवनको सुनिश्चितताको प्रत्याभूति गरियोस् र उनीहरुलाई सुरक्षित स्वदेश फिर्तागर्ने उचित र प्रभावकारी प्रबन्ध तुरुन्तै मिलाइयोस् भन्ने विशेष माग गर्दछौँ ।

बक्तब्यको अन्त्यमा खतरनाक र अत्यन्तै घातक हतियार प्रयोग गरिँदै गरेको प्रलयकारी युद्धको चपेटामा परेर नेपालबाट खाडीराष्ट्रमा रोजगारीको निमित्त पुगेका २० लाखभन्दा बढी किसानका छोराछोरी, श्रमिक आज जीवनकै खतरामा पर्न थालेका छन् । त्यसमाथि उनीहरुको रोजगारी गुम्ने, चालु परियोजना स्थगित हुने, अतिरिक्त काम रोकिने, युद्धकालीन विपत्तिमा परेर सुरक्षित स्थानान्तरण पनि चुनौतीमा पर्ने गम्भीर खतरा आइपरेको छ । यसर्थ यी सबै जोखिमबाट नेपाली श्रमिकलगायत सबै श्रमिकको जीवनको रक्षा र सुरक्षित अवतरण गर्न÷गराउन सबन्धित मित्रराष्ट्रलगायत हामी सम्बद्ध सबैको गम्भीर ध्यानाकर्षण गराउँछौँ भनिएको छ ।