
काठमाडौं,२७ फागुन । चर्चित पत्रकार सुरेश मानन्धरको ५९ बर्षको उमेरमा हृदयघातबाट निधन भएको छ । उहाँ भाषा आयोगका सदस्य एवं नेपालभाषा टाइम्सका पूर्वसम्पादक हुनुहुन्थ्यो । दैनिक पत्रिका राष्ट्रिय सञ्जालका केन्द्रिय सदस्यसमेत रहनुभएको थियो । मानन्धरलाई अकस्मात हृदयघातसँगै शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टरमा लगिएको थियो । अस्पताल पु¥याएको केही समयपछि नै चिकित्सकहरुले उहाँलाई मृत घोषित गरेको उहाँका परिवारका सदस्यले जानकारी दिनुभयो । उहाँ ‘इनाप’ साप्ताहिकबाट पत्रकारितामा संलग्न हुनुभएको र पछि ‘विश्वभूमि’ दैनिक प्रकाशनबाट पूर्णकालीन पत्रकारकारुपमा काम गर्नुभएको थियो । पछि सन्ध्या टाइम्स दैनिक र त्यसपछि नेपाल भाषा टाइम्स दैनिकमा सम्पादक भएर काम गर्नुभएको थियो ।
‘अप्सरा’ फिल्मम्यागेजिन, ‘कोशल्वहं’ कविता त्रैमासिक पत्रिका, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन हुने ‘थाय्भु’ लगायतका पत्रपत्रिकाको सम्पादक मण्डलमा बसी उहाँले केही समय काम गर्नुभएको थियो । उहाँले ०४६ सालमा जनआन्दोलनको समयमा प्रहरीको कडा घेराभित्र वीर अस्पतालमा भर्ना भइराख्नुभएका जनआन्दोलनका कमाण्डर गणेशमान सिंहसँग साथी सुजिव बज्राचार्यसँगै डाक्टरको भेषमा गई अन्तर्वार्ता लिनुभएको थियो । जुन धेरै चर्चित भएको थियो । स्व मानन्धरको ‘नेपालभाषा आन्दोलन’, ‘नेपाल संवत् आन्दोलन’, नेवाः संस्कृतिका साथसाथै विविध विषयमा नेपालभाषा र नेपालीमा लेख रचना प्रकाशित छ । उहाँले गोरखापत्र, कान्तिपुर, नेपाल समाचारपत्र, रातोपाटी, सेतोपाटी, नागरिक दैनिकमा स्तम्भकारका रुपमा समेत लेख रचना लेख्नुका साथै जनआस्थालगायत विविध नेपालभाषाका पत्रपत्रिकामा व्यङ्ग्यकारका रुपमा समेत लेख लेख्दै आउनुभएको थियो ।
स्व मानन्धरको ‘थौं घन्टाघरं जिके ई न्यनाच्वन’(आधुनिक कविता संग्रह), ‘पद्मरत्न तुलाधर’ (नेपाल भाषाका अग्रजका साथसाथै मानव अधिकारवादी पद्मरत्न तुलाधरको जीवनी) प्रकाशित भएको छ । साथसाथै उहाँको सोधपत्र ‘२०४६ साल जनआन्दोलनय् विश्वभूमि न्हिपौया भूमिका’ समेत प्रकाशित छ । उहाँले डा अजयक्रान्ति शाक्य र सन्ध्या बज्राचार्यसँग मिलेर ‘इन्द्रजात्रा’÷‘येँयाः’ पुस्तकसमेत लेख्नुभएको छ । स्व मानन्धरको आज बुधबार बिहान काठमाडौँ इन्द्रायणी घाटमा अत्यष्टि गरिने जानकारी परिवारले दिएको छ ।